काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको घोर विरोध गर्दै प्रतिरोध गर्न आह्वान गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले दुई-तिहाई बहुमतको अहंकारमा गरिएको यो निर्णय आपत्तिजनक रहेको बताउनुभयो।
“देश चरम लोडसेडिङको मारमा परेको बेला, मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उहाँको विज्ञता र क्षमताले नेपाललाई उज्यालो बनाउन सफल भएको कुरा सबैलाई थाहा छ,” दाहालले लेख्नुभएको छ।
उहाँका अनुसार, प्राधिकरणको बाँकी बक्यौता असुल्नुपर्ने विषय उठाएका कारण सरकार घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। “अब भने सरकारले मन्त्रिपरिषद् बैठकबाट उहाँलाई बर्खास्त गरेको भन्ने खबर सार्वजनिक भएको छ। आशा गरौं, यो खबर असत्य होस्। यदि सत्य हो भने, सरकारको यो कदम पूर्ण रूपमा गलत र निन्दनीय छ,” उहाँले भन्नुभएको छ।
स्मरणीय छ, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।