कचनकवल – झापाको कचनकवल गाउँपालिका- १ स्थित घेराबारी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहायक (हे.अ.) विक्रम राजवंशीलाई गाउँपालिकाले सेवा करारबाट बर्खास्त गरेको छ।
राजवंशी विकास मेडिकल फार्मेसीसँग संलग्न भई प्रतिबन्धित औषधिहरूको अवैध कारोबारमा संलग्न भएको पुष्टि भएपछि गाउँपालिकाले वैशाख २८ गते बसेको कार्यपालिकाको निर्णयअनुसार सेवा सम्झौता रद्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले जानकारी दिनुभयो।
उनका अनुसार, औषधि व्यवस्था विभागको टोलीले वैशाख २५ गते उक्त फार्मेसीमा गरेको निरीक्षणका क्रममा फार्मेसीमा प्रतिबन्धित औषधिहरू – ट्रामाडोल ७९५ ट्याब्लेट, एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३,९८० ट्याब्लेट – फेला पारेको थियो। निरीक्षणकै क्रममा राजवंशी कार्यस्थलमा अनुपस्थित थिए।
सोही दिन स्वास्थ्य शाखालाई टेलिफोनमार्फत राजवंशीको विवरण माग गरिएको थियो। पछि गाउँपालिकाले उनलाई फार्मेसी दर्ता तथा सञ्चालनसम्बन्धी कागजात पेश गर्न वैशाख २५ गते पत्राचार गरे पनि तोकिएको म्याद (वैशाख २८) भित्र उनले कुनै प्रतिक्रिया दिएका थिएनन्।
स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ७७ विपरीत निजले व्यक्तिगत रूपमा व्यवसाय सञ्चालन गरेको, ऐनको दफा ९५(२) तथा सेवा करार सम्झौताअनुसार दिइएको स्पष्टिकरणको अवसरको समेत उपयोग नगरेको भन्दै उनलाई सेवा मुक्त गरिएको गाउँपालिकाले जनाएको छ।
फार्मेसीबाट बरामद प्रतिबन्धित औषधिसहित फार्मेसी सञ्चालिका बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।



















