झापा — झापाको बाह्रदशी गाउँपालिका–५ फूलबारीमा रहेको एक फार्मेसीबाट प्रतिबन्धित औषधि बिक्री भइरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार साँझ उक्त फार्मेसीमा छापा मारेर औषधिसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी व्यक्ति बिक्रम विकास मेडिकल फार्मेसीकी संचालक ३९ वर्षीया बन्दना पोखरेल हुन्। फार्मेसी कचनकवल–१ स्थित घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज अहेव बिक्रम राजवंशीको नाममा दर्ता रहेको छ। फार्मेसीमा राजवंशीकी श्रीमती पोखरेल बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काका अनुसार सोमबार साँझ ५ः३० बजे सूचना आधारमा प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा खटिएको टोलीले मेडिकलमा छापा मारी प्रतिबन्धित ट्रामाडोल ७९५ ट्याब्लेट, एन्टीकोफ ४७० ट्याब्लेट र डिक्लोमिन ३९८० ट्याब्लेट बरामद गरेको हो।
डीएसपी खड्काले पोखरेललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको जानकारी दिए।स्थानीय जनप्रतिनिधिका अनुसार फार्मेसीले लामो समयदेखि प्रतिबन्धित औषधि बिक्री गर्दै आएको थियो। बारम्बार सम्झाइ बुझाइ गर्दा पनि अहेव राजवंशीले अटेर गर्दै आएको आरोप उनीहरूको छ।