काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुँदैछन्।
नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त हुन लागेका हुन्। आज साँझसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको तयारी रहेको छ।
शुक्रबार कांग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्रीका लागि दाबी पेस गरिएको थियो। राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्मका लागि दाबी पेस गर्ने समय दिएका छन्। तर अहिलेसम्म ओलीबाहेक कसैको पनि दाबी परेको छैन।
आजै प्रधानमन्त्री नियुक्त हुने भए पनि ओलीको शपथग्रहण भने भोलि मात्रै हुने भएको छ।
राष्ट्रपति कार्यालयले भोलि बिहान ११ बजे प्रधानमन्त्रीको शपथ हुने भन्दै संघीय संसद्का दुवै सदनका सदस्यहरुलाई उपस्थित हुन आग्रह गरेको छ।
‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१–०३–३१ गते बिहान ११ बजे हुने शपथग्रहण समारोहमा उपस्थित हुन संघीय संसदका सम्पूर्ण माननीयज्यूहरुलाई १०ः३० बजे भित्र राष्ट्रपतिको कार्यालय शीतलनिवास प्रवेश गरिसक्ने गरी निमन्त्रणासहितको जानकारी संप्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।