काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको २५औँ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता सुनिश्चित गरिए पनि उनी उपस्थित भएनन्। आयोगले करिब १५ दिनअघि नै साढे ११ बजे प्रधानमन्त्रीलाई उपस्थित गराउने कार्यक्रम तय गरेको थियो भने सुरक्षा व्यवस्थापनसमेत गरिएको थियो। तर, कार्यक्रम सुरु भएपछि प्रधानमन्त्री नआउने बारे कुनै जानकारी समेत नगराइएको आयोगका एक कर्मचारीले बताए।
उक्त कार्यक्रममा सरकारका मुख्य सचिव तथा अन्य सचिवहरूको उपस्थिति रहने कार्यक्रम तालिका थियो। तर, सरकारका कुनै पनि उच्च पदस्थ व्यक्तिको उपस्थिति नभएपछि आयोगप्रति सरकारको बेवास्ता झल्किएको छ। आयोगले विगतका वर्षहरूमा वार्षिकोत्सव प्रधानमन्त्रीकै प्रमुख आतिथ्यमा मनाउँदै आएको थियो।
कार्यक्रममा आयोगकी सदस्य लिली थापाले स्वागत मन्तव्य दिँदै भनिन्, “आजको कार्यक्रमले देखाएको छ कि सरकार मानवअधिकार आयोगप्रति कति उदासीन छ।” अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसहरू कमजोर रूपमा कार्यान्वयन भइरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले सरकारलाई ती सिफारिसहरू कार्यान्वयन गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई सम्बोधन गर्ने लिखित मन्तव्यसमेत तयार गरेको बताए।
यसैबीच, प्रधानमन्त्रीको सचिवालयले कार्यक्रम बिहान चाँडै आयोजना गरिएकाले सहभागी हुन नसकेको प्रष्ट पारेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईंले प्रधानमन्त्री ओली राति अबेरसम्म व्यस्त रहेकाले बिहानको कार्यक्रममा जान नसकेको जानकारी दिए। उनले भने, “मानवअधिकार आयोगको कार्यक्रममा जान कार्यतालिकामा थियो, तर राति अबेरसम्म बसेकाले बिहानको कार्यक्रममा जान सम्भव भएन।”
सोमबारमात्रै आयोगले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते आफ्ना कार्यकर्तालाई गरेका उत्तेजनात्मक अभिव्यक्तिप्रति टिप्पणी गरेको थियो। यसले पनि प्रधानमन्त्रीको अनुपस्थिति पछाडि केही मनोवैज्ञानिक वा राजनीतिक पृष्ठभूमि हुन सक्ने अनुमान लगाउन सकिन्छ।