काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई बिदाइ गरे ।
सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो ।
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका हुन् । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ ।