काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका जाँदै छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोर्क प्रस्थान गर्न लागेका हुन्। उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ। उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ। यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दैछन् । भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ। भारत बसाईका क्रममा डा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। डा. भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ। नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई आज भारत जान लागेका हुन् । डा. भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन्।
Read more at: https://samachardainik.com/news-details/136307/2023-09-16



















