काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दीपक थापामाथि नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भीर आरोप लगाएका छन्।
आज काठमाडौंको बल्खुमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आईजिपी थापा सत्तारुढ दलको प्रभावमा चलिरहेको दाबी गर्दै तीव्र आलोचना गरेका हुन्। उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाप्रति सरकार, गृहमन्त्री र प्रहरी नेतृत्व नै जिम्मेवार रहेको टिप्पणी गरे।
“त्यो दिन (चैत १५ मा) जसरी राज्यले हिंसा भड्कायो, त्यो हामी होइनौं,” लिङदेनले भने, “दुई दर्जनभन्दा बढीलाई गोली लाग्यो, दुई जनाको मृत्यु भयो, कैयौं घाइते भए। त्यो घटनाको कुनै हिसाबकिताब छैन, भौतिक क्षतिको समेत लेखाजोखा छैन।”
उनले सुरक्षाकर्मीले प्रयोग गरेको अश्रुग्याँस म्याद नाघेको दाबीसमेत गरे। “प्रहरीले प्रयोग गरेको अश्रुग्याँस २००८, २०१०, २०१२ मा म्याद सकिएको थियो,” लिङदेनले भने, “त्यो गुर्दा प्रसाईंले हानेको अश्रुग्याँस हो र? अहिलेको प्रहरी प्रमुख त एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक भन्छन्— हामीले हानेको अश्रुग्याँस कसरी म्याद सकिएको हुन्छ?”
उनले प्रहरीलाई राजनीतिक दलको भातृ संगठनको रूपमा नभई निष्पक्ष संस्थाको रूपमा काम गर्नुपर्ने सुझाव पनि दिए। “प्रहरी प्रहरी नै भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भातृ संगठन भएर होइन,” लिङदेनको भनाइ थियो।
त्यसैगरी, लिङदेनले देश गणतन्त्रवादी मात्र नभई राजसंस्थाको पक्षमा हुने नागरिकको समेत साझा भएको बताउँदै सञ्चारमाध्यमलाई अफवाह नफैलाउन आग्रह गरे। “राजा आउनुपर्छ भन्ने आवाज उठाउनु संविधानविपरीत होइन, देश सबैको हो,” उनले भने।