ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–२ स्थित हेलिप्याडमा गएराति भएको खुकुरी प्रहारमा एक युवा घाइते भएका छन्।
मेरिङ्देन गाउँपालिका–३, खाम्लुङ दोभानका ३२ वर्षीय नवीन शेर्पा झगडा गरिरहेका युवाहरूलाई छुट्याउन खोज्दा खुकुरी प्रहारमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार राति करिब ११ बजे ऋतिक लिम्बु (अन्दाजी २७ वर्ष) र आविष्कार लिम्बु (अन्दाजी २४–२५ वर्ष) अन्य युवासँग झगडा गरिरहेका थिए।
सम्झाउने क्रममा ऋतिक लिम्बुले शेर्पामाथि खुकुरी प्रहार गरेका थिए। ढाडमा चोट लागेका शेर्पालाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो। अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरी स्रोतले जनाएको छ।
घटनामा संलग्नहरूको खोजी कार्य जारी रहेको ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ।