Search
Close this search box.
Search
Close this search box.

फूलजस्तै सुन्दर होस् सबैको तिहार

भुवन तामाङ
फूलैफूलको चाड हो तिहार । मखमली, सयपत्री फूलहरु फुल्ने चाड हो तिहार । फूलै फूलले घर आगन सजाइने चाड हो तिहार । चेलीले माइतीलाई मखमली र सयपत्री फूलको माला गलामा लगाइदिने चाड हो तिहार । तिहारको मौसममा मखमली र सयपत्री ढकमक्क फुल्दछन् घरका आँगन, बगैँचाहरुमा । जताततै फूलैफूलको साम्राज्य फैलन्छ तिहारताका । प्रकृुति, मौसम र मानवबीचको समधुर सम्बन्ध बनाउने चाड हो तिहार ।


तिहारको सांस्कृतिक पक्ष पनि फूलमय छ । काग तिहारका दिन पनि फूलले नै कागलाई स्वागत गरिन्छ र खाना दिइन्छ । कुकुर तिहारका दिन कुकुरलाई सयपत्रीका माला लगाई मानिसप्रति गरेको बफादारीताका लागि सम्मान जनाइन्छ । गोबर्धन पुजाका दिनपनि गोबर्धन अर्थात गो बंश गोरुलाई पनि सत्रपत्रीका माला लगाई मानिसलाई गुण लगाएकामा मानमनिता गरिन्छ । तर यी सब काम फूलबिना सम्पन्न हुन सक्दैनन् । त्यसैले तिहार फूलहरुको चाड हो ।

EPIC EPIC EPIC


तिहारमा फूलफूलैको वास्ना र महक जताततै फैलिन्छन् । फूलका सुगन्धले वातावरण नै सुवाषित हुन्छन् । घर आगन जताततै फूलैफूल ढकमक्क भएर सुन्दर देखिन्छन् । मखमली, सयपत्री मात्र होइन अरु विभिन्न फूलहरुपनि फूलेर फूलैफूलको महादेश खडा गरिदिन्छन् । प्रकृतिको लीला देखेर मानवजाति तीनछक्क पर्दछन् । फूल यस्तो सिर्जना हो प्रकृतिको, जसले मानिसको मनमा उमंग, निर्मलता, खुशी, उत्साह र स्फूर्ती भरिदिन्छ । वर्षदिनको पीरमर्का, व्यथा र पीर फूलहरुले बिर्साइदिन्छन् । फूलहरुले गरीबको सानो झुपडी या छाप्रो पनि महल जस्तै बनाइदिन्छन् । फूल नहुँदो हो त तिहार चाड खल्लो र उराठ लाग्दो हुन्छ होला । तिहारमा तराईका फाँटहरुमा फूलहरु फूलेर ढकमक्क हुन्छन् ।


पहाडका पाखाहरुमा, वनपाखमा, नागी र पाटनहरुमा फूलहरुको तँछाड मछाड होड नै चल्छ सबैभन्दा राम्ररी फूल्ने भनेर । हिमाली भेगमा पनि फूलैफूलले मौसम र वातावरण सुन्दर बनाउँदछन् । पर्यटकहरु ती फूलहरु हेरेर मन्त्रमुग्ध हुन्छन् । अन्तरीक्षबाट समेत ती फूलहरु रंगीन र सुन्दर देखिन्छन् जहाँबाट देवताहरु समेत धर्तीमा तिहारछेकका फूलहरु देखेर मन्त्रमुग्ध हुन्छन् ।


लक्ष्मीपूजाका दिन र रातमा त फूलहरुको बान्की र सजावट बिछट्टै हुन्छन् । घरका गेट, ढोका, कोठामा फूलैफूलमात्र सजिन्छन् । बान्की बान्कीका मालाहरु उनिन्छन् यस दिन । रातमा पनि बत्तीको उज्यालोमा फूलहरुको सौन्दर्यताको निखार दृष्यवालोकन गरिसाध्य हुन्न । फेरी फूलका बासनाका मगमग महसुस गरिसाध्य हुन्न । लक्ष्मी पुज्ने कोठामा त झन् फूलैफूल सजाइन्छन् । मानौ लक्ष्मीमातालाई फूल नभइ हुन्न । लक्ष्मीमाताको फोटा, मुर्ती फूलैफूलले सजाइन्छन् । सयपत्री फूलका केस्राहरुको सौन्दर्यता वर्णन गरी साध्य हुन्न ।


अब आयो भाईटीकाका दिनको चर्चा । भाई र दाईहरुलाई फूलले नै पुज्ने गर्दछन् चेलीहरुले । चेलीहरुले मखमली र सयपत्री फूलका राम्रा राम्रा माला लगाइदिन्छन् भाई र दाईहरुलाई । चेली माईतीको सम्बन्ध, स्नेह फूलहरुले राखिदिन्छन् । फूलबिना भाइटीका असम्भव नै हुन्छ । माइतीका लागि परिपरिका माला गाँस्दछन् चेलीहरुले । माला उन्ने सीप देख्न पाइन्छ तिहारमा । हाटबजारमा पनि परिपरिका फूलहरुको मेला लाग्दछन् ।


देउसे भैइलेहरुको गला र काँधमा फूलका मालाहरु सजिएका हुन्छन् । मादल र खैँजडीमा मखमली या सयपत्री फूलका थुँगा सजिएका हुन्छन् । फूलहरुलाई पनि देउसी भैइलो खेल्न मन लाग्छ । उसलाई भट्याउन मन लाग्छ र आशिष दिन मन लाग्छ ।
अनि भन्न मन लाग्छ, ओ फूल तिमी यतिबिधि किन फुलेको ? किन यति धेरै सुन्दर र सुवाषदार भएको ? प्रकृतिले तिमीलाई के भनेर सिर्जना गरेको हो ? यस्तै यस्तै धेरै प्रश्न सोध्न मनलाग्छ फूललाई । यदि फूल नहुँदो हो त वातावरण कस्तो उजाड र उराठलाग्दो हुन्थ्यो होला । अहो कल्पना गर्दा मात्र पनि अवसादमा पुग्छ मन ।


ओ फूल तिमी सधैँभरी यसरी नै सुन्दर भएर ढकमक्क भएर फुलिरहनु । मानिसहरुको मन भुलाई रहनु । मानिसहरुको घर आगन र चाडबाडहरु सजाई रहनु । तिमीबिना मानिसको जीवन अधुरो हुन्छ । झन् तिहार पर्वहरु त निकै खल्लो हुन्छन् । तिहारमा त तिमी बना हुँदै हुँदैन । तिहार अँध्यारो हुन्छ । तिमी तिहारमा ढकमक्क फुलीदिनु । मानवहरुमा उत्साह र खुशी भरिदिनु । त्यसैले तिहार फूलैफूलको चाड हो । अनि फूलजस्तै सुन्दर होस् सबैको तिहार ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *