इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।
१३ वर्षअघि स्थापना गरेको उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको दहालले बताए । विशेषगरी यहाँबाट उत्पादित वस्तु फ्रान्समा जाने गरेको उनले जानकारी दिए ।
‘हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो,’ दहालले भने, ‘निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौं ।
उनले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए ।
धूपीको तेल प्रतिकिलोग्राम दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो छ हजार, मेन्थाको तेल प्रतिकिलो सात हजार र धसिंगरेको तेल प्रतिकिलो सात हजारमा बिक्री हुने गरेको छ ।
दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् । उनले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहेका छन् ।
गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए।
यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ ।