- दिपेश राजवंशी, झापा
बढ्दो प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग अहिले बालविवाह न्यूनीकरणमा मुख्य चुनौती बन्दै गएको झापाका सरोकारवालाहरूले बताएका छन्।
झापाको बिर्तामोडमा महिला जनचेतना केन्द्रले आयोजना गरेको ‘बालविवाह न्यूनीकरणमा धर्मगुरुहरूको भूमिका’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्।
धर्मगुरुहरूका अनुसार समाजमा अहिले बालविवाहको स्वरूप परिवर्तन हुँदै गएको छ। पहिले आमाबाबुले आफ्ना छोराछोरीको बाल्यकालमै विवाह गराइदिन्थे भने अहिले सामाजिक सञ्जालको असजिलो प्रयोगका कारण किशोर-किशोरीहरू भागी विवाह गर्ने क्रम बढ्दै गएको छ। मागी विवाह गराउन खोज्दा जोडी नभेटिने तर भागी विवाह बढ्दै गएको उल्लेख गर्दै धर्मगुरुहरूले बालविवाह न्यूनीकरण अझ जटिल बन्दै गएको बताए।
धर्मअनुसार विवाह हुने भएकाले बालविवाह न्यूनीकरणमा धर्मगुरुहरूको महत्वपूर्ण भूमिका हुने भन्दै महिला जनचेतना केन्द्र, मेचीनगर–६ काकरभिट्टाले उनीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा मुस्लिम धर्मगुरु बाह्रदर्शी–५ का महमद सहजाद आलमले बालविवाह धार्मिक नभई सामाजिक मुद्दा भएको बताए। उनले बालविवाह न्यूनीकरणका लागि सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिनुपर्ने धारणा राखे।
त्यसैगरी, शिवपाञ्चायन नवग्रह मन्दिर, मेचीनगर–७ का पण्डित देवराज निरौलाले आफ्नो मन्दिरमा विवाह गराउन आउँदा जोडीसँग अभिभावक खोज्ने र उमेर बुझ्ने गरेको जानकारी दिए। उनले हिन्दू धर्मशास्त्रमा रजस्वला नभई विवाह गर्दा पुन्य प्राप्त हुन्छ भन्ने उल्लेख कतै नभएको स्पष्ट पारे।
बौद्ध धर्मगुरु कचनकवल–१ का अविदल तामाङले ‘लो’ र ‘खाम’ हेरेर मात्र विवाह गराइने बताए। मागी विवाहमा बालविवाह नहुने भए पनि भागी विवाहमा समस्या देखिएको प्रतिक्रिया दिए।

मेचीनगरका इसाई धर्मका पास्टर तथा इसाई समाज झापाका अध्यक्ष इसहक सेन्चुरीले मानिसको तीनवटा कर्ममध्ये वैवाहिक कर्म आदरणीय र सम्माननीय रहेको उल्लेख गर्दै, आफूहरूले चर्चमा बालविवाह निषेध गरिएको सन्देश दिँदै आएको बताए।
कार्यक्रममा सहभागी सबै धर्मगुरुहरूले कुनै पनि धर्मग्रन्थमा बालविवाह गर्नुपर्छ भन्ने उल्लेख नभएको स्पष्ट पारे। साथै, आगामी दिनमा बालविवाह नगर्न तथा नगराउन प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा धर्मगुरुहरू बाह्रदर्शीका पुस्क ताजपुरिया, मेचीनगरका ज्ञानबहादुर मगर, कचनकवलकी राधिका आचार्य, कचनकवलका श्यामलाल गणेश, टिकालाल राजवंशी, महमद अजाज हुसैन र महमद इहासनुल हक, समाजसेवी मीरा पोखरेल लगायतले पनि बालविवाह सम्बन्धी आफ्ना अनुभवहरू बाँडे।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष राधा प्रधानले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य स्पष्ट पारिन्। सञ्चारकर्मी सुष्मा राजवंशीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
महिला जनचेतना केन्द्रले सन् २०१९ देखि झापाको मेचीनगर, बाह्रदर्शी र कचनकवल क्षेत्रमा बालविवाह न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ।
विवाहका लागि नेपालको संविधानअनुसार किशोर–किशोरी दुवैको न्यूनतम उमेर २० वर्ष तोकिएको छ। २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः रद्ध हुने व्यवस्था छ। साथै, २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने वा गराउने व्यक्तिलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ।