बनियानी – कचनकवल गाउँपालिका-६, बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एनके नेपाल ट्रेड एण्ड सप्लायर्सले आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेको छ। स्वच्छ पिउने पानीको अभावलाई मध्यनजर गर्दै संस्थाले उक्त फिल्टर प्रदान गरेको हो, जसले प्रति घण्टा १५ लिटर पानी शुद्धीकरण गर्ने क्षमता राख्छ, जसले पानीलाई आवश्यक मिनेरल्स र क्षारीय (Alkaline) तत्वसहित शुद्ध बनाउनेछ।
कम्पनीका प्रबन्ध निर्देशकद्वय माधव घिमिरे र मिलन अधिकारीले स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीहरूलाई शुद्ध पानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो वाटर प्युरिफायर जडान गरिएको जानकारी दिए।
आइतबार आयोजित एक समारोहका बीच कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणी खरेल, स्वास्थ्य केन्द्रका मेडिकल अफिसर दिपेन राजवंशी तथा सप्लायर्स कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा उक्त फिल्टर हस्तान्तरण गरिएको थियो।
स्वास्थ्य केन्द्रका पदाधिकारीहरूले शुद्ध पिउने पानीको उपलब्धताले बिरामी तथा सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।



















