काठमाडौं । हमासले गाजामा युद्ध अन्त्य गर्नका लागि प्रस्तुत अमेरिकी शान्ति योजनाका केही अंशहरू स्वीकार गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको आइतबारको समयसीमाअगाडि हमासको यस्तो भनाइ आएको बीबीसीले जनाएको छ ।
आफ्नो विज्ञप्तिमा हमासले बाँकी रहेका सबै इजरायली बन्धकहरूलाई रिहा गर्ने तर प्रस्तावका विषयमा थप वार्ता गर्न चाहेको उल्लेख गरेको छ ।
सामाजिक सञ्जालको एक पोस्टमा ट्रम्पले हमास स्थायी शान्तिका लागि तयार रहेको र इजरायलले गाजाको बमबारी रोक्नुपर्ने आग्रह गरेका छन् ।
हमासले योजनाको एक प्रमुख माग आफ्नो निशस्त्रीकरण र गाजाको शासनमा थप भूमिका नखेल्ने कुरामा सहमत हुने बारे केही उल्लेख गरेको छैन ।
हमासले बाँकी रहेका सबै इजरायली बन्धकहरूलाई रिहा गर्न सहमत भएको तर अमेरिकी शान्ति योजनामा रहेका धेरै बुँदाहरूमा थप वार्ता गर्न खोजेको बताएको छ ।
ट्रम्पले हमासको प्रतिक्रियाको स्वागत गर्दै इजरायललाई गाजामा बमबारी रोक्न आग्रह गरेका छन् । उनले योजनाको मध्यस्थतामा सहयोग गरेको भन्दै कतार, इजिप्ट, साउदी अरेबियालगायत देशहरूलाई धन्यवाद दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल डोनाल्ड ट्रम्पको योजनाको पहिलो चरण तत्काल कार्यान्वयन गर्न तयारी गरिरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले हमासलाई शान्ति योजना स्वीकार गर्न वा गम्भीर परिणाम भोग्नका लागि आइतबारको समयसीमा दिएको केही घण्टापछि यी घोषणाहरू आएका हुन् ।
कतारले हमासको विज्ञप्तिको स्वागत गरेको छ । युद्धविराम कार्यान्वयन गर्नेबारे वार्ता पुनः सुरु गर्न इजिप्ट र अमेरिकासँग समन्वय गरिरहेको बताएको छ । बीबीसी