जिल्लामा शान्ति सुरक्षा, अपराध अनुसन्धान र राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याएका जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक खेम प्रसाद नेपाललाई “जेठ महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषित गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले जेठ महिनाभरमा प्रहरी निरिक्षक नेपालले देखाएको उत्कृष्ट कार्यक्षमताको मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गरेको हो। कार्यालयले प्रत्येक महिना उल्लेखनीय कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप यस्तो सम्मान प्रदान गर्दै आएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार निरीक्षक नेपालले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रूपमा कार्य सम्पादन गरेका कारण यो पुरस्कारका लागि योग्य ठहरिएका हुन्।
प्रहरी निरीक्षक नेपालले मिति २०८२।०२।१३ गते ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने घटनामा संलग्न ७ जना अभियुक्तलाई अनुसन्धानमार्फत पक्राउ गरी कानुनी दायरामा ल्याएका थिए। त्यसैगरी, भारतबाट भन्सार छली गरी ल्याइएको र धानको बिउ भन्दै नक्कली मार्का टाँसी विक्री वितरण गरिँदै गरेको ८४ बोरा धानसहितको पिकअप गाडी नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएका थिए।
यस्तै, विभिन्न मुद्दामा फरार रहेका १७ जना अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गर्नुका साथै, कलैया उपमहानगरपालिका–६, हनुमान चोकस्थित स्थानबाट लागुऔषध Nitravet–10 का ३५ पत्ता सहित ४ जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अगाडि बढाएका थिए।
अपराध नियन्त्रण, अनुसन्धान दक्षता, नीति निर्देशनको पालना तथा राजस्व सुरक्षामा देखाएको सक्रियताका कारण नेपाललाई “महिनाको उत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रहरी प्रमुख तामाङले जानकारी दिनु भएको छ। (सुरक्षा सरोकारबाट साभार)