बाराको क्षेत्र नं. २ मा यही वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल(भारत सीमानाका बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ७ वैशाख बिहीबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको छ ।
यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभर सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ ।
साथै, शनिबार राति १२ बजेदेखि आइतबार मतदानका दिन बेलुका ७ बजेसम्म उपनिर्वाचन क्षेत्रभित्र हुलाकी राजमार्ग र सम्पूर्ण राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द रहने जानकारी समेत सीडीओ नवराज सापकोटाद्वारा सूचनामा उल्लेख छ ।
यस्तै, वैशाख ९ गते राति १२ बजेदेखि १० गते साँझ ७ बजेसम्म एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसंचार सेव, शव वहान, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सावारी सञ्चालमा रोक लगाएको जनाइएको छ ।