बालकुमारीमा दुई जनाको ज्यान गएको घटनामा विभिन्न माग राख्दै प्रदर्शनकारीहरुले सुर्खेतमा सवारी साधन पूर्णरुपमा बन्द गर्ने भएका छन् । आन्दोलन संघर्ष समिति, सुर्खेतको नामबाट एक सूचना जारी गर्दै सुर्खेतमा एक घण्टाका लागि सवारी साधन बन्द गर्ने जनाएको छ ।
सुर्खेतमा भोलि (आइतबार) दिउँसो १२ बजे देखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्दको आव्हान गरिएको छ । सरकारी सवारी साधन भने दिनभर नै बन्द गरिन लागिएको हो ।
शुक्रबार ललितपुरमा प्रहरीसँगको झडपमाबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
दोषीलाई कारबाही र मृतक युवाहरुलाई शहिद घोषणा गर्नुपर्ने प्रदर्शनकारीहरुके माग रहेको छ । त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको ग्यारेन्टीलगायतका मागहरु पनि अगाडि सारिएको छ ।
‘रोजगारीका लागि देश बाहिर जाने प्रयोजनका लागि भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको धरकपड र गोली प्रहारको घटना अत्यन्तै निन्दनीय छ ।
आन्दोलन भइराखेको ठाउँमा जवजस्ती झण्डा हल्लाउँदै भीडमा प्रवेश गर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोली हान्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र घटनामा संलग्न अन्यलाई कानुन अनुसार कारवाहीको माग गर्दै देशैभर आन्दोलन भइरहेको छ ।’ संघर्ष समितिले जारी गरेको अपिलमा भनिएको छ ।