काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएर भागेका मन्त्रीलाई तत्काल बर्खास्त गरी कारवाही गर्नुपर्ने माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै अध्यक्ष थापाले मन्त्रीमाथि कानून बमोजिम कारवाही हुनुपर्ने माग गरे ।
उनले लेखेका छन्, ‘ललितपुरको हरिसिद्धीमा बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भाग्ने गैरजिम्मेवार र अमानवीय कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई तत्काल बर्खास्त गरियोस् र कानून बमोजिम कारबाही होस् ।’
सत्तारुढ नेकपा एमालेको विधान महाविधेशनमा जाँदै गरेका मन्त्री मगर चढेको गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएकी थिइन् । दुर्घटनास्थलमा रहेको सीसीटीभी फुटेमा जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी ती बालिबालाई मन्त्री मगरको गाडीले ठक्कर दिएर भागेको थियो । मन्त्री मगरले गाडीले ठक्कर दिएपछि बालिकालाई उद्धार वा सोधपुछ नै नगरी सोझै भागेकोमा आलोचना भइरहेको छ ।



















