झापा, जेठ १३ — झापाको बाह्रदशी गाउँपालिका–५ घोडामार टोलमा आज बिहान करिब ४ बजे भीषण आगलागी भएको छ। स्थानीय विष्णु ओझाको गुवालीमा रहेको चुलोमा खोले पकाएर ननिभाई राखेको अवस्थामा अचानक आगो सल्किएर आगलागी भएको हो।
स्थानीयबासी र प्रहरीको सहयोगमा आगो करिब ४:३० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीबाट गुवाली पूर्ण रूपमा जलेर नष्ट भएको छ भने काठपात, कुटी काट्ने मेसिन, बिधुतिय मटर जलेका छन्। साथै दुई वटा गाईका बाछा जलेर मरेका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा विष्णु ओझा घाइते भएका छन्। ढाड र हातमा आगोले पोलेको अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पठाइएको छ। हाल उनको अवस्था सामान्य रहेको बताइएको छ।