झापा । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्व निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) झापाले विर्तामोड -५ स्थित सुनगाभा बोर्डिङ स्कुलमा अध्ययनरत ९ वर्षीय बालकलाई शिक्षकले निर्घात कुटपिट गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको छ।
आइतबार प्रेस बिज्ञप्ति जारी गर्दै सो संगठनले निजि बिद्यालयले थोरै तलब दिएर अयोग्य शिक्षकबाट शिक्षण गराउदा यस्ता समस्या आउने गरेको आरोप लगाएको छ।
अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष खगेन्द्र सिटौलाको हस्ताक्षर रहेको प्रेस बिज्ञप्तिमा बिद्यार्थी माथी हुने कुटपिट निन्दनीय र खेदजनक भएको उल्लेख गरिएको छ।
अखिल(क्रान्तिकारी)ले बिज्ञप्ति मार्फत सम्बन्धित बिद्यालय र शिक्षकलाई प्रशासनले कारवाही नगरे आफुहरु कारवाहीमा उत्रने चेतावनी समेत दिएको छ।
केही दिनअघि बिर्तामोड स्थित सुनगाभा बोर्डिङ स्कुलका शिक्षकले भनेकाे नमानेकाे र हाेमवर्क नगरेको भन्दै ९ वर्षीय बालक अविरल तिमल्सिनामाथि निर्घात कुटपिट गरेका थिए ।
यता बिद्यालय प्रशासनले भने घटना पश्चात् बालकका पस्चात, आफन्त, स्थानीय, जनप्रतिनिधि, प्रहरीसँग छलफल गरी सम्बन्धित शिक्षकलाई निष्कासन गरेको जनाएको छ।
बिद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले गल्ती स्विकार्दै यस्ता घटना दोहोरिन नदिने उल्लेख गरेका छन्।