धरान। धरानस्थित जिरोपोइन्टमा बिपी प्रतिष्ठानको बसले ठक्कर दिंदा प्रतिष्ठानकै कर्मचारीको मृत्यु भएको छ। एकजनाको भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित एमर्जेन्सीमा उपचार भइरहेको छ ।
जिरो पोइन्टस्थित स्टेडियम टर्निङमा बिपी प्रतिष्ठानकै को १ क ११५९ नम्बरको बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमरिता लिम्बू सवार प्रदेश १ ०-०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार अमरिताको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका नर्सिङ प्रोफेसर उपेन्द्र यादवले जानकारी दिए ।
चौधरी र लिम्बू श्रीमान् श्रीमती रहेको बताइएको छ । पर्सा जिल्ला भवानीपुर गाउँपालिका घर भएका उनीहरु प्रतिष्ठानमा सहयोगी र सरसफाइकर्मीका रुपमा कार्यरत रहेको बताइएको छ ।
आज प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा ‘रन द माइल्स फिल द स्माइल’ कार्यक्रम अन्तर्गत चिकित्सक कर्मचारीद्वारा आयोजित प्रतिष्ठानको जिओपिडीदेखि फुस्रे हुँदै प्रतिष्ठानसम्मको म्याराथनमा सहभागीलाई पुर्याएर फर्कंदै गरेको प्रतिष्ठानको बसले कार्यक्रममा सहभागी कर्मचारीलाई नै ठक्कर दिएको हो ।
घटनास्थलमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई वीरबहादुर कार्कीले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताए । बसको ठक्करले को १ च ८१०८ नम्बरको भ्यानमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।