बिर्तामोड। बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्ट अगाडि ग्याङफाइट हुँदा तीन जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार, दरबार रेस्टुरेन्टमा खाईपिई घर फर्कने क्रममा दुई समूहबीच विवाद हुँदा झडप भएको हो। घटनामा बिर्तामोड नगरपालिका–४ का ३७ वर्षीय खगेन्द्रराज आङ्दम्बे, सोही वडाका अजय खवास र वडा नम्बर ९ का ३५ वर्षीय विश्वदीप राजवंशी घाइते भएका छन्।
आङ्दम्बेको गालाको बायाँ भागमा गम्भीर चोट लागेको छ भने खवासको बायाँ हातको माझी औंला काटिएको छ, उनको अवस्था सामान्य रहेको जनाइएको छ। राजवंशीको अनुहार र खुट्टामा चोट लागेको छ। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा बिर्तामोड–४ का ४५ वर्षीय खगेन्द्र खालिङ राईसहित ४–५ जना युवा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले तरबारजस्तो देखिने धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको बताइएको छ।