बिर्तामोड। झापा बिर्तामोड नगरपालिका – ३ का किसान त्रिलोचन पौडेलले गत पुस १६ गते एउटा दुधालु गाई गुमाए । होलस्टोन जातको दुई वटा विरामी गाईमध्ये एउटा गाई गुमाएका छन् ।
उनले ८५ हजारमा खरिद गरेर ल्याएको गाईको सुरक्षाका लागि पशु बीमा गरेका थिए । यसै हप्ता उनले गाईको मृत्यू प्रमाणित गरेर बीमा कम्पनीसँग माग दावी गरेका छन् । बीमा गरेका किसानले ९० प्रतिशत भुक्तानी पाउने पशुपन्छी विकास तथा मत्स्य विकास शाखा अधिकृत सावित्रा दाहालले जानकारी दिइन् । उनका अनुसार सरकारले ९० प्रतिशत भुक्तानीको व्यवस्था मिलाइएको छ ।
नेपाल सरकारले ८० प्रतिशत लगानीमा पशु,माछा र कृषिमा बीमा गरिरहेको छ । बाँकी २० प्रतिशतमा पनि बिर्तामोड नगरपालिका र किसानबीच ५०-५० प्रतिशत गलानी गरिएको शाखा अधिकृत दाहालको भनाई छ । उनका अनुसार बिर्तामोड क्षेत्रमा १ करोड ९० लाख बराबरको पशुधनको सुरक्षा गरिएको छ ।
नगरपालिकाले लगानी गर्ने ५० प्रतिशतमा महालेखाले प्रश्न उठाएको छ । राज्यकै दोहोरो लगानी तथा अनुदान दिन नहुने महालेखाले स्पष्ट पारेको छ । दाहालले महालेखाले कैफियत देखाएपछि ५० प्रतिशत लगानीको सन्दर्भमा कसरी अघि बढ्ने बारे अन्यौल भएको बताइन् ।
आर्थिक वर्ष ०८०-८१ मा ४ सय वटा पशु चौपायको बीमा गरिएको थियो । बिर्तामोड नगरपालिकाले केन्द्र सरकारको ८० प्रतिशत, किसान र पालिकाको २० प्रतिशतको लागि आधाआधा लगानी गर्न १ लाख ९० हजार सहयोग गरेको थियो ।
त्यसयता, चालु आर्थिक वर्षमा गाई, बाख्रा र बंगुरको बीमा जारी रहेको पशु प्राविधिक निमेश थापाले जानकारी दिए । अघिल्लो वर्ष २० वटा गाई, ४३ वटा बाख्रा र ४४ वटा बंगुरको बीमा वापत रकम माग गरिएको उनले जानकारी दिए । किसानले २९ लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरी बीमा दावी गरेका थिए ।
बिर्तामोड क्षेत्रमा किसान फुडपोइजन, माल न्यूटे«शन डिफेसेन्सी, किर्ना तथा परिजीवीको टोकाईबाट लाग्ने रोगहरुबाट पशुचौपाय मर्ने गरेका छन् । केहि वर्षअघि लम्पीस्किनको कारण पनि केहि चौपाय मरेको बताइएको छ । पशु प्राविधिकहरुका अनुसार अहिले लम्पीस्किनको समस्या छैन ।