झापा — झापाको बिर्तामोड र काँकरभिट्टाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ।
शुक्रबार दिउँसो २ बजे बिर्तामोड–४ पुरानो भद्रपुर लाइनस्थित वर्ल्डलिंक कार्यालयअगाडि बिर्तामोड–५ का २० वर्षीय सुमित मगरको साथबाट प्लास्टिकमा पोको पारिएको २ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर फेला परेको हो।
त्यसपछि सोही प्रहरी टोलीले बिर्तामोड–५ स्थित देउराली होटल एण्ड लजमा इलाम सूर्योदय–२ की २१ वर्षीया सन्ध्या विश्वकर्माको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो। दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।
त्यसैगरी, शुक्रबार साँझ ५:१५ बजे मेचीनगर–६ काँकरभिट्टास्थित साठी बिगाहमा राधिका प्रधानको घरमा डेरा गरी बस्ने चार जनालाई पनि ब्राउनसुगरसहित पक्राउ गरिएको छ। प्रहरी टोलीले उक्त घरको तल्लो तलामा रहेको दक्षिणपूर्व कोठाबाट प्लास्टिकमा पोको पारिएको १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो।
पक्राउ पर्नेमा मेचीनगर–६ शान्तिगाउँका २९ वर्षीय दीपक मल्लिक, मेचीडाँडाका २५ वर्षीय सरोज दाहाल, सोही ठाउँका २६ वर्षीय सौगात पोखरेल र मेचीनगर–७ सत्तिघट्टाका २१ वर्षीय गुडु भनिने विजय भुजेल रहेका छन्।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
तपाईंलाई यो समाचार छापा सामग्रीको रूपमा चाहिन्छ?