विदिशा ढकाल
बुद्धशान्ति । झापाको बुद्धशान्तिमा बेमौसमी वर्षाले क्षति पुगेका कृषकले हालसम्म राहत पाउन सकेका छैनन् ।
असोज महिनामा आएको हावाहुरी तथा वर्षाको कारणले बुद्धशान्तिमा ३१८.४ हेक्टर (४७१ बिघा) धानबालीमा क्षति पुर्याएको थियो ।
किसानले क्षति भएको धानबालीको विवरण बुझाएको दुईमहिना बित्न लाग्दा पनि स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै पनि राहत पाउन नसकेको कृषकको भनाइ छ ।
´सरकारले कति क्षति भयो भनेर तथ्यांक मात्र संकलन गर्यो´ बुद्धशान्ति -३का कृषक सोमनाथ खतिवडाले भने, “सरकारले हामीलाई आश मात्र देखाउने गरेको छ ।” कृषकलाई राहतका लागि स्थानीय तहले पनि हालसम्म कुनै कार्यक्रम ल्याउन सकेका छैनन् ।
कृषकहरुको समस्या स्थानीय सरकारले बुझेको तर यो समस्या देश भरिकै भएकाले यस सम्बन्धि कुनै दबाब कुनै एक स्थानीय सरकारले मात्र गर्दा समस्या समाधान हुन नसक्ने कुरा बुद्धशान्ति गाउँपालिकाका कृषि प्राविधिक कृष्ण ढुङ्गेलले बताए।
उनका अनुसार संघीय सरकारले बिपत ब्यवस्थापन मार्फत क्षतिपूर्ति दिने र उक्त क्षतिपूर्ति प्राप्त गर्नका लागि कृषकहरुको लागि पनि केही नियमहरु रहने बताए ।
बुद्धशान्ति गाउँपालिकामा वडा नं. १ देखि ७ सम्म गरेर ३१८.४ हेक्टर क्षेत्रफल जग्गामा धानबालीको क्षति भएको छ। जसमध्धे वडा नं. १ मा सबै भन्दा धेरै १३९ हेक्टर र सबै भन्दा कम्ति वडा नं. ७ मा १.५ हेक्टर जमिनमा क्षती पुगेको बताइएको छ ।
क्षति विवरण:
वडा नं १- १३९ हेक्टर
वडा नं २- ४१.९ हेक्टर
वडा नं ३- ७२ हेक्टर
वडा नं ४- २१.७ हेक्टर
वडा नं ५- ३१.८ हेक्टर
वडा नं ६- १०.५ हेक्टर
वडा नं ७- १.५ हेक्टर