बुद्धशान्ति ६ झापाको आधारभुत स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ। केन्द्रमा रक्तचाप र मधुमेहको औषधि अभाव भएको केन्द्रकी प्रमुख अमृता गौतमले बताएकी छन् ।
स्वास्थ्य केन्द्रमा मासिक सरदर ३० जना रक्तचापको औषधि लिन बिरामी आउने गरेपनि गाउँपालिकाले २ सय वटा ट्याब्लेट मात्रै उपलब्ध गराएको छ।
मासिक ९ सय ट्याब्लेट आवश्यक पर्नेमा यतिबेला केन्द्रमा ६ जनाले मात्र सेवा प्राप्त गर्ने अवस्था छ।
निर्वाचन ताका उम्मेदवारहरुले रक्तचाप, मधुमेह लगायतका औषधि घर-घरमै पुर्याउने बाचा गरेपनि स्वास्थ्य केन्द्रमै औषधि नभएको स्थानीयले गुनासो गरेका छन् ।
एक स्थानीयले भने, “चुनावमा भोट माग्दा घरैमा औषधि पाइन्छ भने अहिले स्वास्थ्य केन्द्रमा ग्यास्ट्रीकको औषधि पाइदैन”।
वडामा आएको समस्याबारे सोही वडाका अध्यक्ष शिवराज पौडेलले गाउँपालिकाबाट चाडैं औषधिको ब्यवस्था हुने आश्वासन पाएको बताए।
लामो समयदेखी बुद्धशान्ति गाउँपालिकामा स्वास्थ्य बिभागका प्रमुख नियुक्त नहुँदा स्वास्थ्यसँग सम्बन्धि विभिन्न समस्या आउने गरेका छन् ।
यसअघिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले अवकाश पाएयता नयाँ प्रमुख नियुक्त हुन सकेका छैनन् ।
अधिकारीले अवकास पाएको ६ महिना नाघिसक्यो।
स्वास्थ्य शाखा र स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याबारे बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज कट्टेलसँग कुरा गर्दा आउँदो सातासम्ममा समस्या समाधान हुने उल्लेख गरे।
उनका अनुसार स्वास्थ्य बिभागबाट पत्र प्राप्त भैसकेकाले आवश्यक गृहकार्य गरी मंगलबारसम्ममा स्वास्थ्य शाखा प्रमुख नियुक्ति गर्ने जानकारी दिए।
मधुमेह र रक्तचापको औषधी भने प्रदेशले निस्चित कोटामा उपलब्ध गराउने हुँदा सोही अनुरुप वितरण हुने उल्लेख गरे।
“यद्यपि पालिकाबाट नै खरिद गर्न मिल्ने गरी काम भइ रहेकाले अनुमति प्राप्त गरेपछि मात्रै ठोस परिवर्तन आउँछ, हामिले आवश्यकता अनुसार खरिद गर्न सकिरहेका छैनौं।”
चुनावताका घरघरमा औषधि पुर्याउने बाचा गर्ने उम्मेदवार नै यतिबेला कुर्सीमा छन् तर स्वास्थ्य जस्तो संबेदनसिल बिभागको बिभागिय प्रमुख नियुक्ति गर्न नसक्नु र अत्यावश्यक औषधि उपलब्ध गराउन नसक्नुलाई गम्भीर त्रुटिको रुपमा जनताले बुझेका छन् ।
सम्बन्धित निकायले यसतर्फ ढिला नगरी समाधान खोज्न आवश्यक देखिन्छ।