पालिका सन्देश / बुद्धशान्ति वडा नम्बर ६ को बार्हघरेमा पहिलोपटक खोप कार्यक्रम संचालन भएको छ। साबिक शान्तिनगर गाविस हुँदा देखी नै भौगोलिक बिकटता देखाउदै उपेक्षामा परेको सो क्षेत्रमा खोप कार्यक्रम संचालन भएपछि स्थानीय हर्षित भएका छन्।

आइतबार एक कार्यक्रमका बिच वडाध्यक्ष शिवप्रसाद पौडेल, वडासदस्यहरु रेणुका भट्टराई,लोकेन राई,प्रमिला परियार, कार्यपालिका सदस्य दिनेश लेप्चा, शान्तिनगर टोल बिकास समितीका अध्यक्ष अरुण खतिवडा लगायत अन्य स्थानीयको सहभागितामा कार्यक्रमको शुरूवात गरिएको हो।
स्वास्थकर्मिहरु रिता कट्टेल र मनिषा तोलाङ्गेले १८ दिनको बच्चालाई खोप लगाउदै कार्यक्रमको शुरूवात गरेका थिए।कार्यक्रममा वडा नम्बर ६ कि स्वास्थ्य प्रमुख अमृता गौतम,वडा नम्बर ४का स्वास्थ्य प्रमुख इन्द्रप्रसाद कुइकेल समेतको सहभागिता थियो।
कार्यक्रम पस्चात पालिका सन्देशसँग कुराकानी गर्दै वडा नम्बर ६का अध्यक्ष शिवराज पौडेलले निकट भविष्यमा सो स्थानमा गाउँ घर क्लिनिक समेत संचालनमा ल्याउने बताएका छन्।
कार्यक्रम हरेक महिनाको आठ गते संचालन हुने टोल बिकास समितिका अध्यक्ष अरुण खतिवडाले जानकारी दिए। उनले खोप कार्यक्रम संचालन गर्न सहयोग गर्ने सबै पक्ष खासगरी बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी शान्तिनगर र जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन्। उनले भने, “हामिले निकै लामो समयदेखी यो कार्यक्रम माग गरिरहेका थियौं, सबै पक्षको सहयोगले आज सफलता मिलेको छ।”
त्यस्तै स्थानीय युवा सुरज खनालले खोप कार्यक्रमले सबैमा उत्साह भरेको उल्लेख गरे। उनले स्थानीय जनप्रतिनिधि र स्वास्थ्य शाखाको समन्वयमा जेष्ठनागरिक लक्षित स्वास्थ्य शिविर संचालनमा ल्याउन आग्रह गरेका हुन्।