बुधबारे। बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्ति गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । पत्रकारहरूको छाता संगठनका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लब बुद्धशान्ति झापाको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा पत्रकारिता तालिम सम्पन्न गरिएको छ ।
तालिममा प्रेस क्लबका पदाधिकारी, सदस्यसंगै हालसम्म पत्रकारितासम्बन्धी तालिम नपाएका तर सञ्चार क्षेत्रमा काम गर्दै आएका सञ्चारकर्मी सहित गाउँपालिकाका सातैवटा वडाका इच्छुक विद्यार्थी र नागरिकहरुलाई सो तालिम प्रदान गरिएको थियो। तालिममा ४२ जनाको सहभागीता रहेको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थी अनिता अर्यालले आफूलाई पत्रकारिता तालिम लिन इच्छा जायर भएपछि सहभागी भएको र आधारभूत पत्रकारिता तालिम सिकारु पत्रकारका लागि निकै उपयोगी भएको बताउनुभयो । उहाले आगामी दिनमा पत्रकारिता गर्दा यो तालिमले निकै सहज हुने बताउनुभयो । अर्का प्रशिक्षार्थी समिर सुब्बाले हाल पत्रकारिता अध्ययन र तालिम बिनै काम गरिरहेको अवस्थामा तालिमबाट थप पत्रकारिता गर्न सहज हुने बताउनुभयो ।
प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्वमा भएको तालिमको उद्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाको बिशेष आतिथ्यता, वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नं २ की कार्यवाहक वडा अध्यक्ष सञ्जु पौडेलको आतिथ्यता रहेको थियो ।
तालिम उद्घाटन पश्चात प्रमुख अतिथि अध्यक्ष प्रसाईंले प्रशिक्षार्थीहरुलाई तालिममा लिएका कुराहरुलाई व्यवहारमा समेत लागू गर्दै जान सुझाव दिनुभएको थियो । उहाँले अहिले आधारभूत पत्रकारिता तालिम लिइसकेका प्रशिक्षार्थीहरुलाई आगामी दिनमा एड्भान्स तालिम साथै विदागत तालिम दिन गाउँपालिकाले थप सहयोग गर्ने बताउनुभयो ।

विशेष अतिथि उपाध्यक्ष खतिवडाले आगामी दिनमा पालिकाले थप योजना बनाएर प्रेस क्लबवसंग समन्वय गरेर थप ज्ञान हासिल गर्ने किसिमका तालिम दिने बताए। अतिथि वडा नं २ की कावा अध्यक्ष पौडेलले तालिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
तालिमको पहिलो सत्रमा पत्रकार महासंघ झापा शाखा निवर्तमान उपाध्यक्ष केशव भट्टराईले समाचार विषयवस्तु छनोट, संकलन, लेखन, फिचर लेखन, अन्तर्वार्ता तयारी, रेडियो रिपोर्टिङ, कार्यक्रम सञ्चालन, प्रस्तुतिकरण लगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै तालिममा चलचित्र पत्रकार महासंघ झापाका सचिव एकराज प्रधानले पत्रकारिता कसरी गर्ने, पत्रकारीता पेशामा सामाजिक सञ्जालको प्रयोग, प्रभाव, डिजिटल प्रविधि, नागरिक पत्रकारिता, अनलाइन पत्रकारिता, फोटो फिचर, मोबाइल पत्रकारिता लगायतका बारेका प्रशिक्षार्थीलाई प्रशिक्षण गराउनुभएको थियो ।
तालिमको दोस्रो सत्रमा अर्जुनधारा प्रेस क्लबका अध्यक्ष एवम् खेलकुद पत्रकार मञ्ज झापाका पूर्व अध्यक्ष रमेश समदर्शी राईले खेल पत्रकारिताका बारेमा प्रशिक्षण गराउनुभएको थियो। त्यस्तै बुद्धशान्ति प्रेस क्लबका सल्लाहकार गंगाराम गड्तौलाले पत्रकारितामा भाषाको प्रयोगबारे प्रस्ट्याउनु भएको थियो ।
समापन सत्रमा प्रमुख अतिथि रहेका प्रेस क्लबका संस्थापक एवम् बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले आफूपनि पहिले सञ्चारकर्मी भएकाले पत्रकारिता पेशाका अनुभव सुनाउँदै प्रशिक्षार्थीलाई अवसर र चुनौतीका बारेमा प्रशिक्षण गराउनुभएको थियो ।
पत्रकारिता क्षेत्रको समग्र विकास गर्ने लक्ष्यका साथ सञ्चालित दुईदिने आधारभूत पत्रकारिता तालिम ग्रामीण क्षेत्रमा पत्रकारिता गर्दै आएका सञ्चारकर्मीको मागअनुसार नै तालिम प्रदान गरिएको प्रेस क्लबका अध्यक्ष तिम्सिनाले बताउनुभयो। तालिम पश्चात सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
संस्थाका सचिब रोशन भट्टराईले सञ्चालन गरेको तालिममा उपाध्यक्ष नारायण अर्यालले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष भारती राईले सहजीकरण गराउनुभएको थियो । कार्यक्रम बुधबारे स्थित बुद्धशान्ति उद्योग बाणिज्यसंघको सभाहलमा भएको थियो ।