बुद्धशान्ति । सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड विरूद्ध खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेसंगै झापाको बुद्धशान्ति गाउँपालिकाले पनि तयारी सुरु गरेको छ ।

चैत २५ गतेदेखि बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने बताइएको छ ।
टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग भएकाले खोप लगाउन सबैले उत्प्रेरणा जगाउनुपर्ने वडा नम्बर ३ मा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वास्थ्यशाखाका धिरेन यादवले बताएका छन् । कार्यक्रममा वडाध्यक्ष कमल उप्रेतीले खोप अभियानमा सबै सरोकारवालाले सहयोग पुर्र्याउन आग्रह गरे ।
टाइफाइड ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए तापनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।
टाइफाइड जस्ता पानीजन्य सङ्क्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर पिउन, खाना खानुअघि, दिसापिसाब गरेपछि, खाना बनाउनु वा छुनु अघि, बालबालिकालाई खाना खुवाउनु अघि साबुनपानीले हात धुनुपर्ने बताइएको छ ।



















