बुद्धशान्तिमा १८ हजार बढीलाई दादुरा–रुबेला बिरुद्धको खोप लगाइने

तीर्थ तिम्सिना,

बुद्धशान्ति गाउँपालिकामा फागुन २१ गतेदेखि चैत्र ४ गतेसम्म ९ महिना देखि माथिका १५ बर्ष सम्मका बालबालिकालाई दादुरा–रुबेला खोप अभियान चलाइने भएको छ । यसका लागी गाउँपालिकाले पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण समेत सम्पन्न गरेको छ । त्यस्तै मंगलबारबाट वडास्तरीय अभिमुखीकरणका साथै स्वास्थ्यकर्मीलाई समेत तालिम दिने तयारी गरिएको बताइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

७ वटा वडा रहेको गाउँपालिकामा १ नं वडामा ३ हजार ७१६, २ नं वडामा ४ हजार ११८ जना, ३ नं वडामा ४ हजार ६३३ जना, ४ नं वडामा ३ हजार ६२ जना, ५ नं वडामा १ हजार ५१६ जना, ६ नं वडामा ६९० जना र ७ नं वडामा ७३१ गरी १८ हजार ४ सय ६६ जना बालबालिकाहरुलाई खोप लगाइने बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक उमा उप्रेती अधिकारीले बताएकी छिन् । उनका अनुसार खोप सञ्चालनका लागी ३३ वटा केन्द्र तय गरिएको छ । खोपकेन्द्र बुद्धशान्तिका सबै विद्यालय हुनेछन् । खोपका लागी ८९ जना स्वास्थ्यकमी र १२५ जना स्वयंमसेवीका खटाइने बताइएको छ ।

के हो दादुरा रोग ?
दादुरा एक प्रकारको आरएनए भाइरसबाट लाग्ने संक्रामक रोग हो । निर्देशिकामा उल्लेख गरिए अनुसार यो भाइरस मानिसमा मात्र सर्दछ । दादुरा धेरै छिटो सर्ने अतिसंक्रामक किसिमको भाइरस भएको चिकित्सकले जनाएका छन् । त्यसैले यो रोगले छिटै महामारीको रुप लिने गरेको पाइएको छ । यो रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ तर ५ वर्षमुनिका बालबालिकामा बढी देखिने गरेको निर्देशिकामा उल्लेख छ ।

रोग सर्ने तरिका ?
दादुरा संक्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा दादुराको भाइरस हुन्छ । यो भाइरस नाक तथा घाँटीमा बृद्धि भइ यसले श्वासप्रश्वास नली एवम् शरीरको अन्य भित्री अङ्गहरूमा संक्रमण गर्दछ । रोगीको खकार, सिंगानको सम्पर्कमा आउँदा वा रोगीले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने छिर्काहरूमार्फत हावाको माध्यमबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । शरीरमा राता बिमिरा देखा पर्नुभन्दा ४ दिन अगाडिदेखि र बिमिराहरू देखा परेको ४ दिन पछिसम्म यो भाइरस दादुरा रोगीबाट अर्को व्यक्तिमा सर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

के हो रुबेला रोग ?
रुबेला रोग आरएनए भाइरसबाट लाग्ने संक्रामक रोग हो । निर्देशिका अनुसार यो भाइरसबाट संक्रमण हुँदा दादुरामा जस्तै शरीरमा राता बिमिरा देखा पर्न सक्छन् र हल्का ज्वरो आउन सक्छ । यो रोग बालबालिका र वयस्कमा देखा पर्न सक्ने निर्देशिकामा उल्लेख छ । यदि गर्भावस्थाको पहिलो तीन महिनामा महिलालाई रुबेला संक्रमण भएमा ती महिलाबाट जन्मिने शिशु विभिन्न प्रकारका जन्मजात विकृति भएर जन्मिने, गर्भपतन हुने वा मृत बच्चा जन्मिन सक्ने जनाइएको छ, जसलाई कन्जेनिटल रुबेला सिण्ड्रोम भनिन्छ ।

कसरी सर्छ ?
रुबेला रोग लागेको व्यक्तिको श्वास प्रश्वासबाट (जस्तै– खोक्दा, हाच्छिउँ गर्दा) यो रोगको भाइरस अर्को व्यक्तिमा सर्न सक्छ । रुबेला रोगका भाइरसहरू नाक र घाँटीमा वृद्धि हुन्छन् र शरीरको अन्य भागमा सर्दछन् । शरीरमा बिमिरा देखापर्नु भन्दा ७ दिन अगाडिदेखि बिमिरा देखिएको ५ दिनसम्म यो रोगका भाइरस अन्य व्यक्तिमा सर्न सक्छन् । कन्जेनिटल रुबेला सिण्ड्रोम भएर जन्मेको बच्चाले १२ महिनाको उमेरसम्म यो भाइरस अरुलाई सार्न सक्ने निर्देशिकामा उल्लेख छ ।

दादुरा र रुबेला रोगको उपचार के छ ?
दादुरा र रुबेला रोगको हालसम्म निश्चित औषधि उपचार छैन । जटिलताको कारणबाट मुत्यु पनि हुनसक्ने भएकाले यी रोगको उपचार यसका लक्षण वा जटिलता अनुसार गर्नु पर्ने चिकित्सकले सुझाएका छन् । तोकिएको उमेरमा दादुरा र रुबेला रोग विरुद्धको खोप दिनु नै यो रोगबाट बच्ने एकमात्र प्रभावकारी एवं भरपर्दो उपाय रहेको उनीहरुको भनाइ छ । यी रोगविरुद्ध दिइने खोप नियमित खोप सेवाको माध्यमबाट ९ महिनाको उमेरमा पहिलो मात्रा र १५ महिनाको उमेरमा दोस्रो मात्रा लगाउनु पर्ने निर्देशिकामा उल्लेख छ ।

नेपालमा कहिलेदेखि लगाइन्छ दादुरा खोप ?
नेपालमा दादुरा खोपको सुरुवात सन् १९८८ देखि भएको पाइन्छ । त्यसबेलादेखि नियमित खोपसेवाको माध्यमबाट बालबालिकालाई ९ महिनाको उमेरमा दादुरा खोप प्रदान गर्न गरिँदै आएको निर्देशिकामा उल्लेख छ । सन् २०१३ देखि ९ महिनाका बालबालिकालाई रुबेला खोप दिन सुरु गरियो, जसअनुसार नियमित खोप सेवाको रुपमा दादुरा–रुबेला खोप प्रदान गरिँदै आएको छ । सन् २०१५ देखि नियमित खोप सेवामा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिने कार्य सुरुवात गरियो, जसअनुसार १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिइँदै आएको छ ।

सन् २०२६ सम्म दादुरा र रुबेला रोग निवारण गर्ने सरकारी लक्ष्य
सरकारले २०२६ सालसम्म दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य लिएको छ । यो खोपको पहुँच ९५ प्रतिशत स्थानीय तहमा पु¥याउने उल्लेख छ । यसका लागि सरकारले चालु आर्थिक वर्षमा देशभरि नै दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गररे यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ । यो अभियान मार्फत ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट खोपको मात्रा प्रदान गरिने भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *