बुद्धशान्ति। बुद्धशान्ति गाउँपालिकामा अन्तर मावि T-10 छात्र नकआउट क्रिकेट प्रतियोगिता २०८२ को शुभारम्भ भएको छ। बुद्धशान्ति गाउँपालिका कार्यपालिकाको आयोजनामा आयोजित यस प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानी प्रसाद खतिवडाले संयुक्त रूपमा गर्नुभएको हो।

कार्यक्रममा गाउँपालिका पदाधिकारीहरू, विद्यालयका शिक्षक, अभिभावक, खेलाडी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। उद्घाटनमा अध्यक्ष प्रसाईले ब्याटिङ गरी प्रतियोगिता प्रारम्भ गर्नुभएको थियो भने उपाध्यक्ष खतिवडाले बलिङ गरेर प्रतियोगिता सुरुवात गर्नुभएको थियो।

प्रतियोगिता बुद्धशान्ति गाउँपालिका–३, पेट्रोल पम्प अगाडिको खेलमैदानमा सञ्चालन भइरहेको छ र फाइनल खेल जेठ १९ गते, सोमबार सम्पन्न हुने तय भएको छ। विजेता टिमलाई नगद रु १२,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई नगद रु ८,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ।

शिक्षा र खेललाई सँगसँगै अगाडि बढाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले विद्यार्थीमा खेलकुदको भावना र नेतृत्व क्षमताको विकास गर्ने तथा विद्यालयस्तरीय खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ। (तस्बिर : बुद्धशान्ति साप्ताहिक)