बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाको १६ औँ गाउँ सभा अधिवेशन आज उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको अध्यक्षतामा बसेको गाउँ सभाले आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रसाईँले गाउँपालिकाको नीति तथा कार्यक्रम शुक्रबार पेस गरेका छन् । गाउँपालिकाले निकै लामो समय सम्म बजेटको तयारी र छलफल गरी ल्याएको नीति तथा कार्यक्रममा लोकतन्त्र प्रति पूर्ण प्रतिबद्ध, सुशासन, गाउँवासीहरू प्रतिको उत्तरदायी प्रशासनिक कार्य, भ्रष्टाचारमुक्त सभ्य र सुसंस्कृत समाज निर्माणका लागि कर्तव्यनिष्ठ भई सुदृढ ढङ्गले लाग्ने कुरा उल्लेख गरिएको छ ।

आगामी आर्थिक बर्ष देखि भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा चौविसै घण्टा सेवा सञ्चालन हुने अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छ । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाइ, पूर्वाधार निर्माणलगायतका सार्वजनिक सेवा सुविधाको प्रभावकारी ढङ्गबाट प्रवाह गर्ने श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागितामार्फत कम नगद लागतमा श्रममूलक योजनाहरू सञ्चालन गरिने बताइएको छ ।
सभामा गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले आर्थिक बर्ष ०८२–८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । आजबाट सुरु भएको गाउँसभा संसोधन सहित सोमबार सकिने प्रमुख प्रशासकिय अधिकृत विनोद पोखरेलले बताएका छन् ।