झापा/ आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रम तथा क्रियाकलापहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रममा अहिलेकाे प्रमुख चुनौतीका रूपमा रहेका नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याकाे रोकथाम र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बुद्धशान्ति गाउँपालिकालाई स्वास्थ्य कार्यालय झापाले प्रशंसा पत्र प्रदान गरेको छ।
नेपाल सरकारकाे प्राथमिकता कार्यक्रमका रूपमा फागुन महिनामा सञ्चालन गरिएको नसर्ने रोगको स्क्रिनिङ, जोखिम पहिचान तथा नियन्त्रण अभियानमा बुद्धशान्ति गाउँपालिकाले पहिलो हुँदै सक्रिय भूमिका निर्वाह गरेको भन्दै उक्त उपलब्धिको उच्च कदर गर्दै प्रशंसा गरिएको पालिका सन्देशलाई जनाइएको छ ।
त्यसैगरी, पूर्ण खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगरका सचिव डा. यदुचन्द्र घिमिरेबाट बुद्धशान्ति गाउँपालिकालाई समान पत्र प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन यादवले बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा प्राप्त यस उपलब्धिका लागि गाउँपालिकाले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय झापा, सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, महिला सामुदायिक स्वयंसेविका, जनप्रतिनिधि, सञ्चारकर्मी, शुभचिन्तक तथा सहयोगी संघ–संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ।उक्त सम्मान पत्र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन यादवले ग्रहण गरेका थिए।




















