पालिका सन्देश । बुधबारे जेसीजको १२औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सन् २०१२ मा स्थापना भएको बुधबारे जेसीज आज बाट ११ बर्ष पूरा गरि १२ औँ बर्षमा प्रवेश गरेको छ ।
बुधबारे जेसीज बर्ष २०२३का लागि अध्यक्ष जेसी अर्जुन ढकालको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बुधबारे जेसीजका सस्थापक अध्यक्ष प्रकाश सिवाकोटी थिए भने बिशिष्ट अतिथी नेपाल रेडक्रस सोसाइटी उपशाखा बुधबारेका अध्यक्ष पुष्प भट्टराई रहेका थिए।
कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । झापामा निरन्तर भईरहने रगतको अभाव लाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सित्तल तिम्सिनाले बताए । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो।
बुधबारे जेसीजका सस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी प्रकाश सिवाकोटीले एउटा रजिस्टारबाट शुरु भएको जेसीजले आफ्नै भवन बनाउन सफल भएकोमा सबैले गर्व महशुस गर्नुपर्ने उल्लेख गरे।
‘धेरै पुराना शाखाहरु अहिले पनि भाडाका कोठामा अल्मलिएका छन्, तर आज हामी आफ्नै भवनमा बसेर स्थापना दिवस मनाउन सफल भएका छौं’ उनले भने।
उनले युवाहरूलाई व्यवसायीक रूपमा सकृय हुँदै जेसीज अभियानमा जोडिन सके सुनमा सुगन्ध हुने भन्दै सबैलाई कर्ममा बिश्वास गर्न अनुरोध गरेका थिए।
शाखाका पुर्व अध्यक्ष सेमन्त पोख्रेलले जेसीजले युवाहरूलाई सहि पथमा हिडाउन सफल भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा बुधबारेका अध्यक्ष पुष्प भट्टराईले सामाजिक सस्थाहरु मध्ये छोटो समयमै बुधबारे जेसीजले उल्लेखनीय प्रगति गरेको भन्दै बधाई दिएका थिए।
उनले बुधबारे जेसीजले स्थापनाको १२ बर्षमै आफ्नै खर्चमा भवन निर्माण सम्पन्न गरेकोमा समेत शुभकामना दिएका थिए।
बुधबारे जेसीजका अध्यक्ष एवं कार्यक्रमका सभापति जेसी अर्जुन ढकालले आफ्नो कार्यकालमा भवन संचालन लगायत अन्य धेरै कार्यक्रम गरिने उल्लेख गरे।
‘शाखाको प्रकरणलाई मध्यनजर गर्दै स्थानीय संघ सस्था र व्यक्तिहरु संयोजन गरी हामी निरन्तर अभियानमा जोडिनेछौ, हामीसँग भवन पनि भएकाले हाम्रो शाखा सबै दृष्टिकोणबाट बलियो बनेको महशुस भएको छ’ अध्यक्ष ढकालले भने।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका स्वास्थकर्मिहरु,बुधबारे जेसीजका पदाधिकारी एवं पुर्व अध्यक्षहरु रमेश बराल,प्रकाश भण्डारी,नन्दु राई,अनिल वाग्ले, निवर्तमान अध्यक्ष मुकेश भट्टराई लगायतको उपस्थिति थियो।
कार्यक्रमको संचालन बुधबारे जेसीजका महासचिव कुशल अधिकारीले गरेका थिए भने कार्यकारीणी उपाध्यक्ष अनिल घिमिरे आस्था पाठ गरेका थिए।
युवाहरूको अन्तरनिहीत प्रतिभा लाई प्रस्फुटन गरि सक्षम नागरिक उत्पादन गर्ने उदेश्यले स्थापना भएको बुधबारे जेसिजले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।