धादिङ: निलकण्ठ माध्यामिक विद्यालय धादिङमा अध्ययनरत तीन जना बालिका बुधबारदेखि सम्पर्कविहीन भएका छन् । कक्षा ९ मा अध्ययनरत ती बालिकाहरू हिजो बिहान दश बजे विद्यालय आएका र त्यसपछि घर नआएपछि उनका अभिभावकहरूले खोजी गरेको हो ।
तीनै बालिकाहरूलाई खोजी गरिदिन उनिहरुका अभिभावक बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा आएपछि प्रहरीको समेत सक्रियतामा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनु भएको छ ।
सम्पर्कविहीन बालिकाहरुमध्ये तीनै जना कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी बिक, सुशिला तामाङ्ग र अस्मिता गुरुङ्ग रहेको उनिहरुका अभिभावकले बताएका छन् ।
बेपत्ता बालिकाहरु तीनै जना नीलकण्ठ नगरपालिकास्थित वडा नम्बर- ३ मा आफ्नै परिवारसँग बस्दै आएका हुन् । उनिहरुको खोजीका लागी प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरिसकेको बताइएको छ ।