इटहरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदी किनारमा धरान–१६ की १९ वर्षीया अनिता राईको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार आइतबार बिहान करिब ८ बजे स्थानीयवासी दाउरा खोज्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
गत शुक्रबार बराहक्षेत्र–१ मा पर्ने मदन भण्डारी राजमार्गअन्तर्गत दुध खोलामा मोटरसाइकलसहित बुबा–छोरी बगेका थिए ।
सो क्रममा बुबा जीवन राईलाई स्थानीयवासी र प्रहरीले तत्कालै उद्दार गर्न सफल भए पनि छोरी अनिता खोलासँगै कोशीमा मिसिएर बेपत्ता भएकी थिइन् ।
शनिबार दिनभर कायकको सहयोगमा घटनास्थलदेखि राजाबाससम्म खोजी अभियान चलाइएको थियो ।
आइतबार बिहान पुनः राजाबासदेखि कोशी ब्यारेजसम्म प्रहरी टोली परिचालन गरिएको अवस्थामा राजाबासमै शव फेला परेको प्रहरीले जनाएको छ ।