अब फेरि एक हुल व्यापारी आउँछन्,
प्रगति र समृद्धिका कथा सुनाउँछन्।
भन्छन्
“अब नयाँ युगको सिर्जना गर्नेछौँ,
शिक्षा, स्वास्थ्य, रोजगार सब सवल पार्नेछौँ,
सोचेभन्दा सुन्दर संसार बनाउनेछौँ।”
तर त्यो त केवल काल्पनिक सपनाको सहर हो,
जहाँ अनौठो विश्वस्तताको लहर हो।
मसला मोलमोलाईको खेल,
कतै मेटिएको सिउँदोको मेल,
कतै रित्तिएको कोखको चीत्कार,
कतै उजाडिएको गाउँको लाचार,
कतै लुटिएको स्वाभिमानको पुकार।
त्यही सपनामा हामी सजिलै बेचिन्छौँ,
अस्तित्व नै बिर्सेर चोक्टा र नशामा भुलिन्छौँ।
पोहोर जस्तै, परार जस्तै
नेतृत्वको बोट, एउटा सपना,
र एक छाकमै बेचिएको भोट।
कसरी निको हुन्छ समाजमा गुजिएको चोट?
फेरि फर्कन्छ त्यही व्यापारी,
ओट माग्दै हिँड्ने पुरानो बटुवाजस्तै।
हामी भने, नसचेत, नशङ्क, नजागृत,
सपनामै हराइरहेकै हुन्छौँ,
न हिउँद टुंग्याउँदै, न वसन्त चुम्दै,
न आँखा खोल्दै, न हेक्का राख्दै।
त्यही कोतारिएको घाउमाथि
फेरि उड्छ सडकको धुलो
त्यही सडक,
जहाँ जनता बारम्बार
कौडीमै बेचिन्छन्
सपना लिएर, पीडा बोकेर,
र फेरि…
विश्वास गरेर।
