बेलबारीमा प्रिन्सिपलको कुटाइले विद्यार्थीको आँखाको ज्योति गयो, विद्यालयले घटना लुकाउन खोज्यो

  • बेलबारी (मोरङ)।

बेलबारी–९ स्थित डाँगीहाट बजारमा रहेको डाँगीहाट लिटिल बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल मणिकुमार तामाङको कुटाइबाट एक विद्यार्थीको देब्रे आँखाको ज्योति गुमेको तथ्य बाहिरिएको छ।

१३ वर्षीय आर्यन थारू, जो सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छन्, उनलाई केही महिना अघि कक्षा सञ्चालनको क्रममा कुटपिट गरिएको थियो। उक्त घटनामा भाटाले लागेको चोटका कारण आर्यनको देब्रे आँखा पूर्णरूपमा काम गर्न छाडेको चिकित्सकको निष्कर्ष छ।

EPIC EPIC EPIC EPIC EPIC

पीडित परिवारका अनुसार, प्रारम्भमा विद्यालयले उपचार खर्च व्यहोर्ने र घटना बाहिर नल्याउने सर्तमा पीडित पक्षलाई सम्हाल्ने प्रयास गरेको थियो। तर, लामो समय उपचार गरेपनि दृष्टि फिर्ता नआएपछि परिवारले यो घटना सार्वजनिक गर्न बाध्य भएको बताइएको छ।

आर्यनकी आमा आशा थारूका अनुसार, “कक्षामा अन्य साथीहरू हल्ला गरिरहेका बेला मेरो छोरा चुपचाप पढिरहेको थियो। प्रिन्सिपलले रिसको झोकमा हानेको भाटा सिधा उसका आँखामा लाग्यो। त्यसपछि हामीले बिराटनगरस्थित तापडिया क्लिनिक हुँदै आँखा अस्पताल पुर्‍यायौं, तर त्यहाँ डाक्टरहरूले आँखाको ज्योति गइसकेको बताए। पछि तिलगंगा आँखा अस्पतालमा लगिएको थियो, जहाँ अपरेशन गरेपनि उसले १ सय मिटरभन्दा टाढा देख्न नसक्ने बताइयो।”

आर्यनका बाबु वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। आमाले भने, “विद्यालयले सबै उपचार खर्च दिने, पढाइ पूरा गराउने र घटना बाहिर नल्याउने सर्त राखेको थियो। त्यसैले यसबारे हामी लामो समय चुप लाग्यौं।”

विद्यालयका प्रिन्सिपल मणिकुमार तामाङले आफूबाट गल्ती भएको स्वीकारेका छन्। “मबाट कमी कमजोरी भएको हो। माफ गर्नुहोला,” उनले छोटो जवाफ दिएका छन्।

विद्यालयमै विद्यार्थीले यस्तो अमानवीय व्यवहार भोग्नुपरेपछि अभिभावकहरू त्रसित बनेका छन्। उनीहरूले विद्यालय प्रशासनसँग जिम्मेवारीपूर्वक काम गर्न माग गरेका छन्।

अहिले आर्यन विद्यालयको वार्षिक परीक्षा दिइसकेका छन्, तर एक विषय छुटेका कारण पूर्ण परीक्षा दिन नसकेको बताइएको छ। दृष्टि गुमेपछि उनलाई पढाइ मात्र होइन, सामान्य हिँडडुलमा समेत समस्या भइरहेको परिवारले जनाएको छ।

घटना सार्वजनिक भएपछि स्थानीय अभिभावक तथा सामाजिक अभियन्ताहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै विद्यालयमा छानबिन हुनुपर्ने आवाज उठाएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *