बौद्ध स्तूपमा पुनः तालाबन्दी र तोडफोड : समिति र घ्याङ गुठीबीच अधिकार विवाद चर्कियो

काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध स्तूपको मण्डला प्रवेशद्वारमा गत शनिबार (भदौ १४) एक समूहले तालाबन्दी गर्‍यो । त्यसपछि बौद्ध भिक्षु, सर्वसाधारणहरूले मण्डला प्रवेश गर्न पाएनन् । बुधबार (भदौ १८) प्रहरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धनाथ क्षेत्र विकास समिति लगायतले तालाबन्दी खुला गराए । 

समितिका अनुसार, बिहीबार (भदौ १९) पनि पुनः तालाबन्दी र नयाँ गेट खडा गर्ने प्रयास भएको छ । समितिका अध्यक्ष राजकुमार लामाले आज पनि तालाबन्दीको प्रयास भएको जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

“गत शनिबार गरिएको तालाबन्दी हिजो बुधबार खोलिएको थियो । लगत्तै आज पनि तालाबन्दीको प्रयास भएको छ । विश्व सम्पदामा सूचीकृत सम्पदामा व्यक्तिको निर्देशनमा यस्ता गतिविधि पटक–पटक हुँदै आएको छ,” लामाले भने । 

बौद्ध तथा मेलम्ची घ्‍याङ गुठीका पूर्वचिनियाँ लामा भूपति बज्र लामा (औतारी लामा को निर्देशनमा एक समूहले तालाबन्दी गरेको दाबी समितिको छ । “उहाँहरूले बौद्धनाथलाई आफ्नो अधिनमा राख्न खोज्नुभएको छ । हाम्रो सरकारी बोर्ड र सूचना पाटी जफत गर्ने, पुरातत्व ऐनविपरीत ड्रील गर्ने, नयाँ संरचना खडा गर्ने, तोडफोड गर्ने काम गर्दै आउनुभएको छ,” लामाले भने ।

भिक्षु, सर्वसाधारण प्रवेश गरेर मण्डला वरिपरी घुम्न पाइन्छ । तर, सो प्रवेशद्वारमा ताला लगाएपछि पर्यटकहरू टिकटको पैसा माग्न कार्यालय आउने गरेको समितिले जनाएको छ । 

यस्ता गतिविधिहरू गर्नेलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम कारबाही हुन्छ । दफा १२ (ग) मा कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानिनोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगोबमोजिमको रकम असुलउपर गरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

समिति र घ्‍याङ गुठीबीचको टकराब विगत लामो समयदेखि रहँदै आएको समितिका एक सदस्यले जानकारी दिए । “आफ्नो अधिकार क्षेत्रबाहिर रहेर घ्‍याङ गुठीले गतिविधिहरू गरिरहेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथलाई लिएर अनावश्यक द्वन्द्व सिर्जना गर्न लागिएको छ,” ती अधिकारीले भने । 

अध्यक्ष लामाका अनुसार, एक वर्ष पहिले पनि सो गेटमा तालाबन्दी गरिएको थियो । 

प्रहरीका अनुसार, भगवानको मण्डलामा प्रवेश गर्न दिने र नदिने विषयमा विगतदेखि नै दुई घयाङ गुठी र समितिबीच विवाद हुँदै आएको छ । 

“भगवानको थानमा प्रवेश गर्न नदिने भन्ने घयाङ गुठीको भनाइ हो । तर, समितिले पर्यटक, भिक्षुलगायत सबै सर्वसाधारणका लागि खुला हुँदै आएको मण्डला खुला हुनुपर्छ भन्ने हो । हिजोदेखि गेट खुला गरिएको छ,” प्रहरी वृत्त बौद्धका एक प्रहरी अधिकृतले भने । 

मन्दिरभित्र सवारीसाधन प्रवेश गराउन नमिल्ने तर, ती लामाले आफ्नो गाडी जबरजस्ती छिराउने गरेको पनि समितिको आरोप छ । 

समितिका अध्यक्ष लामा भन्छन्, “बौद्धनाथ परिसरभित्र सवारीसाधन निषेध गरिएको छ । तर, उहाँले आफ्नो गाडी जबरजस्ती छिराउनुहुन्छ । स्तुपामै ताला लगाइदिने हो भने पर्यटकले कहाँ जाने ? बौद्धभित्रै उठ्ने गरेको चन्दा र पैसाको हिसाब राज्यले खोजेन । बौद्धनाथभित्र उठेको पैसा बाहिर गइरहेको छ ।”

काठमाडौं प्रहरी परिसरका एसपी अपीलराज बोहोराले ताला खोलेर आज सहज रूपमा आवतजावत भइरहेको बताए । “समिति र गुठीको क्षेत्राधिकारको विषयमा विवाद थियो । अहिले ताला खुलिसक्यो । आज सहज रूपमा आवतजावत भइरहेको छ,” उनले भने । 

यस्ता गतिविधि गर्न निर्देशन दिने लामालाई गुठी संस्थाले समेत वास्ता नगरेको समितिको भनाइ छ । “उहाँलाई गुठी संस्थानले कन्ट्रोल गर्नुपर्ने हो । तर, त्यस्तो देखिएन,” समितिका अध्यक्ष लामाले भने । 

गुठी संस्थानका सूचना अधिकारी शालिकराम सुवेदीले आफूहरूको जानकारीमा बौद्धनाथको विवाद आएको बताए । “बौद्धको गुठी र समितिको विवादको विषय संस्थानसम्म आइपुगेको छ । यस विषयमा वास्तविकता बुझ्नका लागि सस्थानको टोली पठाउँदैछौँ,” उनले भने । 

समितिका अनुसार, २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका क्रममा मात्रै सो मण्डलामा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको थियो । 

बौद्धनाथभित्र भएका समस्याहरूको बारेमा पटक–पटक गृहमन्त्री, पर्यटनमन्त्रीलाई भन्दै आएको पनि समितिका अध्यक्ष लामाले बताए । “गृहमन्त्री, पर्यटनमन्त्री पनि यहाँका समस्याहरू बताउँदै आएको छु । तर, समस्यामा समाधान भने अहिलेसम्म निस्किएन,” उनले भने । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *