बिर्तामोड । गोलधाप १ की निर्मला चौधरी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि रामचोकमा बिहान ५ बजे नै पुग्छिन् । उनले भक्का बेच्न सुरु गरेको सात वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट घरखर्च जुटाउने गरेको उनले सुनाइन् ।
उनले भक्का प्रतिगोटा रु १५ का दरले बिक्री गर्छिन् । उनले भनिन्, “भक्का बिक्रीबाट दैनिक राम्रै हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” उनले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छिन् । उनका अनुसार बिहानै कलेज, स्कुलजाने विद्यार्थीहरु, स्थानीयहरु, मर्निङवाक गर्नेहरुनै भक्का खान झुम्मिन्छन |
चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै रु दुई सय पर्ने गरेको उनको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु १५ पुगेको उनले सुनाइन् ।
दुईबर्ष अघि श्रीमान बितेपछी अहिले निर्मला एक्लै भएकी छन् | परिवारमा आफु र एक छोरा मात्र भएको र भक्क बेचेरै पढाएको छोरो अहिले कुरियर अफिसमा जागिर खान्छ खुसी छु उनले बताइन |