भद्रपुर। भद्रपुर नगरपालिका क्षेत्रभित्र आगामी पौष ७ गते (आइतवार) चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा स्थानीय विदा दिने निर्णय गरिएको छ। यस सम्बन्धी निर्णय भद्रपुर नगरपालिकाको सातौँ नगरसभाबाट भएको हो।
नगरपालिकाले स्थानीय विदासम्बन्धी सूचना सार्वजनिक गर्दै नगरपालिका, वडा कार्यालयहरू, यस अन्तर्गतका निकाय तथा विद्यालयहरूमा सार्वजनिक विदा लागु हुने जानकारी दिएको छ। तर, बारुणयन्त्र र सरसफाईजस्ता अत्यावश्यक सेवाहरू भने यथावत सञ्चालन हुनेछन्।
त्यसैगरी, बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसलाई विशेष बनाउन भद्रपुर नगर कार्यपालिकाको कार्यालय तथा विद्यालयहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने छन्। नगरपालिका प्रशासनले ती कार्यक्रमहरूलाई प्रभावकारी बनाउँदै सहभागिता जनाउन सबैलाई आग्रह गरेको छ।
यस निर्णयले बालबालिकाप्रति जिम्मेवार स्थानीय शासन व्यवस्थालाई प्रवर्द्धन गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।