भद्रपुर, ३२ साउन । झापाको भद्रपुर नगरपालिका–१० स्थित विपि चौकमा करिब दुई वर्षयता सञ्चालनमा रहेको उत्तरदायित्व ऋण तथा बचत सहकारी संस्था बिना इजाजत सञ्चालनमा रहेको पाइएको छ ।
साइन बोर्डमा स्थापना २०७० लेखेर टाँगिएको सहकारीको मुख्य कार्यालय कहाँ छ अनि सहकारीको जिम्मेवार व्यक्ति को हो भन्ने सूचना समेत दिन नसक्ने कर्मचारीको भरमा सयौं स्थानीयबाट रकम संकलन गर्दै आएको सहकारीले बचत फिर्ता गर्न नसकेपछि भद्रपुर–१० नम्बर वडा कार्यालयले खोजी गर्दा इजाजतको प्रमाण नपाइएको हो ।
स्थानीय सरकारसित कुनै अनुमति लिएको नपाइएपछि भद्रपुर सहकारी शाखा प्रमुख नेत्र पोखरेल तथा भद्रपुर १० का वडा सचिव मनकुमार डाँगीको टोलीले कार्यालयमै गएर कागजपत्र माग्दा त्यहा रहेकी संकलक कर्मचारीले केही पनि देखाउन नसकेको वडा सचिव डाँगीको भनाइ छ । उनका अनुसार शुक्रबार १० बजेभित्र सम्पूर्ण कागज पत्र लिएर वडा कार्यालयमा आउन संस्थाका व्यवस्थापकलाई जानकारी गराइएको छ ।