भद्रपुर। राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीद्वारा विपन्न परिवारका लागि निर्माण गरिएको आवास एक कार्यक्रमका बीच शनिबार हस्तान्तरण गरिएको छ।
करिब ६ लाख रुपैयाँ लागतमा भद्रपुर–१० मा निर्माण गरिएको घर स्व. हिरादेवी दर्जीको नाममा निर्माण गरिएको भए पनि उहाँको निधनपछि घर उहाँका छोरा घनश्याम दर्जीलाई हस्तान्तरण गरिएको हो। संघका नगर अध्यक्ष दीपक बुढाथोकीले जानकारी दिएअनुसार संघले विगतदेखि नै विपन्न परिवारका लागि आवास निर्माणको कार्य गर्दै आएको छ।
हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदेम्बे प्रमुख अतिथि थिए। कार्यक्रममा एमालेको कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बसन्त बानियाँ, भद्रपुर इन्चार्ज घनश्याम अधिकारी, प्रदेश सदस्य शिव राजभण्डारी, जिल्ला अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, उपसचिव असारु राजवंशी लगायतको उपस्थिति थियो।
कार्यक्रमकै अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो।