भद्रपुर – भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ।
भद्रपुरस्थित मेची रंगशालामा बुधबार सम्पन्न उद्घाटन खेलमा आयोजक टोलीले पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।
अत्यन्तै रोमाञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो। खेलको ३९ औं मिनेटमा भद्रपुरका स्ट्राइकर मिलन राईको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएपछि भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै स्कोर २–० बनाए।
४२ औं मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट एकल खेल प्रदर्शन गर्दै गोल गरे। वान टु वान स्थितिमा रहेका शर्माले दार्जिलिङका गोलरक्षक सिंहलाई छलाउँदै गोल गर्न सफल भए।
७२ औं मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गरे।
पहिलो हाफमा फितलो प्रदर्शन गरेको दार्जिलिङले दोस्रो हाफमा सुधार गर्दै खेलमा फर्किन खोजेको थियो। खेलको ५० औं मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई सदुपयोग गर्दै गोल गरे। ५५ औं मिनेटमा नयन प्रधानले आशिष देवानको क्रस पासमा उत्कृष्ट गोल गर्दै स्कोर ३–२ बनाए। ७० औं मिनेटमा दार्जिलिङका रूड गुलितले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए।
तर, अन्ततः ७२ औं मिनेटमा भद्रपुरका प्रताप राईको निर्णायक गोलले आयोजक टिमलाई जित दिलायो। खेलको अधिकांश समय दार्जिलिङले दबाब सिर्जना गरे पनि भद्रपुरको रणनीतिक खेलका अगाडि पराजित भयो।
खेलको प्लेयर अफ द म्याच भद्रपुरका आशिष चापागाईं घोषित भए। उनले नगद २१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। पुरस्कार चण्डीराज पराजुलीको परिवारले प्रदान गरेको थियो।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि दोस्रो हाफमा केही दबाब सिर्जना भएको बताए। उनले वैकल्पिक खेलाडीको उत्कृष्ट प्रदर्शनले जित सम्भव भएको उल्लेख गरे।
दार्जिलिङका प्रशिक्षक शिव तामाङले खेलको प्रारम्भमै गोल खाएपछि टिम दबाबमा परेको बताए। टिम राम्रोसँग सेट हुन नपाउँदै गोल खाँदा खेलको नतिजा विपक्षीको पक्षमा गएको उनको भनाइ थियो।
बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजक सचिव तीर्थ ढकालले जानकारी दिए। मोफसलकै प्रतिष्ठित भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल रहेका छन्।
भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रूपमा रहेका छन्। प्रतियोगिताको उद्घाटन राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गरेका थिए।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल जित्नेछ। प्रतियोगिता सम्पन्न गर्न अनुमानित १ करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ।
प्रतियोगिताभरिका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) ले नगद १ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ प्रदान गरिनेछ।