भद्रपुर – भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा झापा ११ एफसीले स्थान सुरक्षित गरेको छ। भद्रपुरस्थित मेची रंगशालामा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा झापा ११ ले चर्च ब्वाइज युनाइटेडलाई २–1 गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। यसअघि पहिलो चरणमा झापाले मछिन्द्र एफसीलाई हराएको थियो।
खचाखच भरिएको रंगशालामा खेलको पहिलो हाफ १–1 को बराबरीमा सकिएको थियो। खेलको १४औँ मिनेटमा झापाका एरोन थापाले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। चर्च ब्वाइजका गोलकिपर कृसल मोक्तान अगाडि बढेको मौकामा थापाले मैदानको मध्यभागबाट प्रहार गर्दै बललाई जाली चुमाएका थिए।
४१औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए। झापाका प्रदीप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरेपछि पाएको फ्रिकिक अवसरलाई एरिक विष्टले सदुपयोग गर्दै धिमाललाई गोलको अवसर सिर्जना गरिदिएका थिए।
खेलको ७९औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले निर्णायक गोल गरे। चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल क्लियर हुन नसक्दा तामाङले मौका सदुपयोग गर्दै गोल गरे। घरेलु दर्शकको समर्थनका बाबजुद झापाले केही थप अवसरहरू गुमाएको थियो। खेलको २४औँ मिनेटमा प्रदीप बुढाथोकीको हेडर चर्चका किपर मोक्तानले रोके। ३२औँ मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट प्रहार गरेको बल मोक्तानले बचाए।
प्लेयर अफ द म्याच झापा ११ का कप्तान पेमा तामाङ घोषित भए। उनले नगद २१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे। खेलपछि आयोजित पत्रकार सम्मेलनमा झापा ११ का प्रशिक्षक अंगुरकुमार खड्गीले उत्कृष्ट टिमवर्ककै कारण ए डिभिजन टिमसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए।
त्यस्तै, चर्च ब्वाइजका व्यवस्थापक सविन डाँगीले मोफसलमा खेल्दा मुख्य टिम उपस्थित गराउन नसक्दा कठिनाइ भएको बताए। उनले क्लबको मुख्य टिम हेडक्वार्टरमा भएकाले सबै खेलाडी ल्याउन नसकिएको कारण प्रदर्शन प्रभावित भएको उल्लेख गरे।
प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेल आइतबार न्यु रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बजार प्रगति संघबीच हुनेछ। गोल्डकपका विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७ लाख सहित ट्रफी र मेडल जित्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख ५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी तथा प्रशिक्षकलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ दिइनेछ।
यसबाहेक, एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलबाट दुईजनाको डिनर तथा सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाबाट दुईवटा चाँदीको सिक्का प्राप्त गरेका छन्।