झापा- आफ्नै वडाकी कार्यवाहक वडाध्यक्षमाथि हातपात गरेको आरोपमा भद्रपुर-३ की वडासदस्य पूर्णमाया सुब्बा (पुनम) लाई प्रहरीले पक्राउ गरेको छ।
कार्यपालिका सदस्यसमेत रहेकी वडा सदस्य सुब्बाले राप्रपाबाटै निर्वाचित कार्यवाहक वडाध्यक्ष भुवमाया थापा पुलामी र वडा कार्यालयका कर्मचारीमाथि हातपात गरेकी हुन्। विवाद छुट्याउन जाने क्रममा वडा कार्यालयका दुई महिला कर्मचारी पनि सामान्य घाइते भएका छन्।
घटना विवरण अनुसार, बुधबार दिउँसो २ बजे वडा कार्यालय अगाडिको खाजा पसलमा कार्यवाहक वडाध्यक्ष पुलामी, कर्मचारीहरू मनिका बेघा, प्रमिला थुलुङ र गंगा बराल खाजा खाइरहेका बेला वडा सदस्य सुब्बा त्यहाँ पुगेकी थिइन्।
सोही क्रममा दुई जनप्रतिनिधिबीच भनाभन भई विवाद बढ्दा सुब्बाले पुलामीलाई हातपात गरेकी थिइन्।
कार्यवाहक वडाध्यक्ष पुलामीले चिठी लुकाएको आरोप लगाएपछि विवाद सुरु भएको बताइएको छ।
घटनापछि न्यायको खोजीमा जिल्ला प्रहरी कार्यालय पुगेकी पुलामीको उजुरीपश्चात् प्रहरीले सुब्बालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।