बुद्धशान्ति । झापाको बुद्धशान्तिमा रहेको भागिरथा बुद्धशान्ति अस्पतालमा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । अत्याधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । यसबाट विशेषगरी बालबालिका, बृद्धबृद्धा तथा महिला बढी प्रभावित रहेका छन् ।
बुद्धशान्ति अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको संख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् । केही दिनदेखि जिल्लामा अत्याधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको संख्या बढेको स्वास्थ्य संस्थाले जनाएका छन् ।
बुद्धशान्ति अस्पतालका बरिष्ठ जनस्वास्थ्य निरीक्षक धिरेन यादवका अनुसार अस्पतालमा दैनिक न्यूनतम् ८० देखि २५० जना सम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिए । उनले भने, ‘अस्पतालमा अन्य रोगभन्दा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ, दैनिक आउने भाईरल ज्वरोका बिरामीका कारण उपचार गर्नमा केही कठिनाई समेत आएको छ ।’
पछिल्लो केही दिनयता यहाँका गाउँघरमा समेत भाइरल ज्वरोका बिरामी देखिन थालेको छ । मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको जनस्वास्थ्य निरीक्षक यादवले पालिका सन्देशलाई बताए ।
यसका अतिरिक्त दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकहरु बताउँछन् । यस्ता बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाई लगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।