भारतका विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै हुनुहुन्छ । सातौं नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा विदेशमन्त्री जयशंकर नेपाल आउन लाग्नु भएको हो ।
नेपालमा रहदा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
दुई दिने नेपाल भ्रमणमा आउन लागेको विदेशमन्त्री जयशंकरको टोली शुक्रबार भारत फर्किनेछ। २०४४ सालमा गठित परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको चौथोपटक हो ।
विदेशमन्त्री जयशंकरको विदेश भ्रमणमा खासगरी विद्युत् व्यापार सम्झौतालगायत दुई मुलुकबीच सहमति हुने बताइएको छ । परराष्ट्र स्रोतका अनुसार जयशंकरको भ्रमणका क्रममा महाकाली सन्धिमा रहेको पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेगरी डीपीआर घोषणा गर्ने, भारतले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावट विद्युत् खरिद गर्ने र भारतीय दूतावासले ‘साना विकास परियोजना’ ९एसडीपी० कार्यक्रममार्फत सिधै परिचालन गर्न पाउने रकमलाई बढाउने सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।
यस्तै, भारतले नेपाललाई दिँदै आएको साना सहयोग परियोजना अन्तर्गतको सहयोग पाँच करोड रुपैयाँबाट बढाएर २० करोड रुपैयाँ पुर्याउने सम्झौतामा पनि हस्ताक्षर हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। नेपालले आफ्ना तर्फबाट अन्तर्राष्ट्रिय हवाई मार्गको अनुमति दिन भारत पक्षसँग प्रस्ताव राख्ने तयारी गरेको छ।