काठमाडौं । भारतको छत्तीसगढ राज्यको बिजापुर क्षेत्रमा सुरक्षा फौज र माओवादी विद्रोहीबीच भएको भिडन्तमा ठूलो संख्यामा हताहती भएको दाबी गरिएको छ।
बीबीसीका अनुसार, करिब एक सातादेखि माओवादीको सशक्त प्रभाव क्षेत्र मानिएको कर्रेगुट्टा पहाडमा सुरक्षा फौजले घेराबन्दी गर्दै अपरेशन चलाइरहेका छन्। पछिल्लो भिडन्तमा कम्तीमा तीन जना माओवादी लडाकुको शव फेला परेको छ भने थप लडाकुहरू पनि हताहत भएको सुरक्षास्रोतले दाबी गरेका छन्।
उक्त क्षेत्रमा सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच अझै पनि गोली हानाहान जारी रहेको जनाइएको छ। छत्तीसगढ, विहार, झारखण्डलगायत भारतका विभिन्न राज्यहरूमा माओवादी जनयुद्ध सक्रिय रहेको मानिन्छ। सुरक्षाकर्मीले माओवादी उपस्थिति र गतिविधि नियन्त्रण गर्न विशेष अपरेशन अघि बढाएको बताइएको छ।



















