काठमाडौँ– सिन्धुलीको दुधौली नगरपालिका–१ की सीता माझी आइतबार साँझ खाना खाएर सुत्ने तरखरमा थिइन्। त्यही बेला उनको देवर खिलबहादुर भुजेल आइपुगे। लामो समयदेखि सम्पर्कविहीन देवरलाई देख्दा उनी खुशी भइन्। तर उनको खुशी लामो समय टिकेन।
देवर खिलबहादुरले टिसर्ट उठाएर कम्मरमाथि देखाउँदै भने, “यहाँ धेरै दुखिरा छ के भयो थाहा छैन।”
उनको कम्मरमाथि ब्यान्डेज गरिएको थियो । ब्यान्डेज हेर्दा घाउ आलै रहेको बुझ्न सकिन्थ्यो। भुजेल रुन मात्र सकेका थिएनन्। एकैछिनमा गाउँमा हल्लाखल्ला भयो। मानिसले अड्कल काटे, “कसैले किड्नी पो झिक्यो कि!”
तर भुजेलले केही बताउन सकेनन्। उनले गाउँलेलाई भने, “बेहोस बनाएको याद छ, त्यसपछि काठमाडौँको कलंकीमा गाडीले झारेपछि ब्युँझिएँ।”
त्यो रात उनी आलो घाउ दुखेर निदाउन सकेनन्। भोलिपल्ट सिन्धुलीकै डकाहामा रहेको समिट माउन्टेन हस्पिटल पुर्याइयो। त्यहाँका चिकित्सक डा. नवीन बयरका अनुसार, उनी अस्पताल आउँदा ब्यान्डेज गरिएको थियो। ब्यान्डेज खोलेर घाउ सफा गर्न खोज्दा ३० वटा टाका लगाइएको देखियो। त्यसपछि डा. बयरले मिर्गौला झिकेको हुनसक्ने शंका गरेर भिडिओ एक्स रे गरे। नभन्दै देब्रेतीरको मिर्गौला थिएन। “त्यो थाहा पाउनासाथ मैले प्रहरीलाई खबर गरेँ, बिरामीलाई सोध्दा केही थाहा छैन मात्र भने,” डा. बयरले भने, “त्यत्रो किड्नी झिकेको थाहा नै पाउनु भएनछ।”
भुजेल वर्षौंदेखि सडक निर्माणमा मजदुरी गर्थे। अन्तिम पटक काठमाडौँमा काम गरिरहेका उनी पोखरा काम गर्न पुगेका थिए। भुजेलले भाउजू सीतालाई सुनाए अनुसार, पोखरामा सडक बनाउने काम गर्दा सडकमै पाल टाँगेर सुत्थे। त्यही क्रममा एक जना अपरिचित राम्रो काम लगाइदिने आश्वासन दिएर गत असारमा भारत पुर्याए। भारतमा उनलाई एउटा घरमा राखियो।
त्यहाँ हरेक दिन खाना खान दिइन्थ्यो। भाँडा माझ्न र सरसफाइको काम लगाइन्थ्यो। तर, त्यो कुनै होटल थिएन, न मानिसको घर नै। भुजेललाई त्यतिकै थुनेर राखिएको थियो। महिना दिनपछि भुजेलले काम नगर्ने बताए। भोलिपल्ट उनलाई लिन एउटा कालो गाडी आयो। त्यसपछिको घटनाक्रम याद नभएको उनले बताएका छन्। “गाडीमा हालेदेखि कलंकी रोडमा झारिदिएको मात्र याद छ भनेर सुनाउनुहुन्छ,” सीता भन्छिन्, “उहाँलाई भारतको कुन ठाउँमा लगेको भन्नेसम्म याद छैन।”
शनिबार कलंकीमा झरेका खिलबहादुर रातभर हिँडेर पहिले सँगै मजदुरी गर्ने साथीलाई भेट्न पुगे। खिलबहादुरले सीतालाई सुनाएअनुसार, साथीले घर सम्मको टिकट काटेर हातमा १ हजार ५०० रुपैयाँ हालिदिए। साथीको सहयोगले घर पुगेका उनले त्यसपछि मात्रै मिर्गौला झिकेको चाल पाए।
सोमबार भुजेल परिवारले स्थानीय प्रहरीमा उजुरी दिएका छन्। तर, उनलाई पोखराबाट भारत कसले लग्यो, भारतमा कहाँ राखियो भन्नेसम्म याद छैन। भारत बसुन्जेल कुनै पैसासमेत नदिएको खिलबहादुरले आफूलाई बताएको सीताले सुनाइन्। “केही याद छैन मात्रै भन्नुहुन्छ, स्वास्थ्य पनि नाजुक छ,” सीता भन्छिन्।
ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने भुजेलको परिवार सामान्य छ। उनकी श्रीमती र छोरा पनि साथमा नभएको भाउजू सीता बताउँछिन्। अब के गर्ने उनीहरू अन्योलमा छन्। “ज्यान सद्दे हुँदा त परिवार पाल्न धौधौ थियो। अब कसरी ज्यान पाल्ने होला,” सीता भन्छिन्।